१०१ वर्षीया वेल्फेयर पेन्सनर दिर्गामाया आलेद्वारा खानेपानी उदघाटन

  वास खबर सम्बाददाता  795 पटक हेरिएको


तनहुँ : १०१ वर्षीया वेल्फेयर पेन्सनर दिर्गामाया आलेले तनहुँको भानु नगरपालिका १० सिमलचौरमा निर्माण सम्पन्न खानेपानी योजनाको उदघाटन गर्नुभयो । गोर्खा वेल्फेयर ट्रष्ट अन्तर्गत उत्थानशील खानेपानी सरसफाइ तथा बिपद तयारी कार्यक्रम पोखराको आर्थिक सहयोग र गाउँलेको श्रमदानबाट निर्माण भएको सिमलचौर खानेपानी तथा सरसफाइ योजनाको उहाँले उदघाटन गर्नुभएको हो।

वेल्फेयर पेन्सनर दिर्गामाया आलेले नै सिमलचौरको घरघरमै धारा निर्माणका लागि पहल गर्नुभएको थियो।

नगर प्रमुख श्री आनन्द राज त्रिपाठीको प्रमुख आतिथ्य, GWTN एरिया वेल्फेयर सेन्टर तनहुँका एरिया वेल्फेयर अफिसर अमृत कुमार मल्ल ठकुरीको बिशिष्ट आतिथ्यमा स्वच्छ पानी सफा घर, अब छैन रोगको डर’ भन्ने मूल नाराका साथ आयोजना हस्तान्तरण गरिएको गोेर्खा वेल्फेयर ट्रष्ट उत्थानशील खानेपानी सरसफाइ तथा बिपद तयारी कार्यक्रमका प्रोजेक्ट सुपरभाइजर जोगमल शाहीले जानकारी दिनुभयो।

कूल वास्तविक लागतको सार्वजनिक सुनुवाइ प्रोजेक्ट म्यानेजर बुद्धि बहादुर श्रीस मगरले गर्नुभयो । जम्मा ३५ लाख २६ हजार ८ सय ६७ रुपैयाँ ३६ पैसामा सिमलचौर खानेपानी योजना निर्माण सम्पन्न भएको उहाँले जानकारी गराउनुभयो।


‘यसमा गोर्खा वेल्फेयर ट्रष्ट उत्थानशील खानेपानी सरसफाइ तथा बिपत तयारी कार्यक्रम पोखराको २७ लाख ५५ हजार १ सय २७ रुपैयाँ लगानी छ । उपभोक्ता समितिले ७ लाख ७१ हजार ७ सय ४० रुपैयाँ बराबरको श्रमदान गरेका छन्’ कुल वास्तविक लागतको सार्वजनिक सुनुवाइमा प्रोजेक्ट म्यानेजर बुद्धि बहादुर श्रीस मगरले भन्नुभयो।

सिमलचौर खानेपानी योजनाको २ वटा मूलहरुबाट पानी जम्मा गरी गाउँ भन्दा तलतिर रहेको मूलबाट ८३ मिटर उचाईमा लिफ्टिङ गरी बितरण गरिएको छ । योजना अन्तर्गत २ ओटा पानी जम्मा गर्ने टंकी र ३४ ओटा धारा निर्माण गरिएको प्रोजेक्ट सुपरभाइजर शाहीले जानकारी गराउनुभयो।

उहाँका अनुसार यो योजनामा ७७ दिनमा सम्पन्न भएको हो। ‘२०८० साल फाल्गुन १८ गतेदेखि सुरु भई २०८१ जेठको ०३ गते सम्पन्न भएको हो’ सुपरभाइजर शाहीले भन्नुभयो।

पेन्सनर दिर्गामाया आलेले समुदायकै पानीको आवश्यकता भएको जानकारी गराई पहल भएपछि सम्पूर्ण समुदायले घर घरमा खानेपानी प्राप्त गरेका छन् । समुदायका सबै जना दिर्गामाया आले आमा सँग धेरै खुसी हुनुभएको छ।

परियोजनाको नेतृत्व र एकदम गुणस्तरीय काम भएको भन्दै समुदायले गोर्खा वेल्फेयर टिमलाई धन्यवाद व्यक्त गर्नुभएको छ। ‘वेल्फेयर पेन्सनर दिर्गामाया आमाको दिर्घ जीवनको कामना गर्दै शुद्ध पानी उपलब्ध गराउने कार्यमा गोर्खा वेल्फेयरको काम प्रति सम्पूर्ण समुदाय कृतज्ञ छौं’ समुदायले भनेका छन्।

एक घर, एक धारा पहल गर्नुभएकी निवेदक वेल्फेयर पेन्सनर दिर्घमाया आले १०१ बर्ष पुगेको अबसरमा केक काटेर शताब्दी जन्मोत्सव मनाईएको थियो।

उदघाटन कार्यक्रमका थप फोटाहरु : 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार