
काठमाडौ : देशैभरि छरिएर रहेका संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयका आयोजना प्रमुखहरुले आयोजना कार्यालयहरुले भोग्दै आएको समस्या र चुनौती तथा तत्काल सम्बोधन गर्नुपर्ने बिषयहरु समेटेर खानेपानीमन्त्री प्रदीप यादव समक्ष ज्ञापन पत्र बुझाएका छन् ।
खानेपानीमन्त्री प्रदीप यादवलाई भेटेर देशभरिका २० वटै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयहरुले खानेपानी मन्त्रालय तथा मातहतका निकायहरुको संगठन व्यवस्थापन तथा सर्वेक्षण (O&M) स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाईदिन माग गरेका हुन् ।
आयोजना कार्यालयहरुले भोगिरहेको साझा समस्या दर्शाउदै आयोजना प्रमुखहरुले त्यसको तत्काल निरुपणको माग समेत गरेका छन् ।
५० वर्ष भन्दा लामो इतिहास बोकेको खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहतका संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरू अस्थायी प्रकृतिको रहेको जानकारी गराउँदै यसले गर्दा कर्मचारीको स्थायित्वमा समस्या आएको, कुनै कार्यालयमा कति समयसम्म सेवा दिन पाउने सुनिश्चितता नरहेको, प्रत्येक आर्थिक वर्षमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट अस्थायी दरबन्दी स्वीकृत गरिरहनु पर्ने जस्ता समस्या व्यहोर्दै आएको ज्ञापन पत्र मार्फत दर्शाईएको छ ।
मौजुदा दरबन्दी संरचना विवरणमा प्राविधिक जनशक्तिको सन्तुलन भौतिक तथा कार्यबोझ अनुसार नरहेको, कर्मचारीको समग्र उत्प्रेरणा, स्थायित्वको अलावा विभागीय भविश्य समेत अन्यौलपूर्ण रहनुको साथै कर्मचारीको वृत्ति विकासमा समेत जोखिम सिर्जना भएको ज्ञापन पत्रमा उल्लेख छ ।
‘आर्थिक बर्ष २०८०/०८१ को बजेट बक्तव्यमा समेत शीघ्र संगठन व्यवस्थापन तथा सर्वेक्षण गर्ने भनी उल्लेख भएकाले यथाशीघ्र संगठन व्यवस्थापन तथा सर्वेक्षण प्रक्रिया अघि बढाईदिनु हुन अनुरोध गर्दछौं’ ज्ञापन पत्रमा भनिएको छ । यसका लागि मातहतका सबै आयोजना कार्यालयबाट आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ।
ज्ञापन पत्र मार्फत संविधानले गरेको व्यवस्था, नेपालले अन्तर्राष्ट्रिय जगत सामू दर्शाएको प्रतिबद्धता, नेपाल लगायत १९३ राष्ट्रहरुले सहमति गरेको दिगो विकास लक्ष्य र १६ औं आवधिक योजनाले खानेपानी र सरसफाइमा राखेको लक्ष्यका बारेमा समेत स्मरण गराएको छ ।

विस्तृतमा हेर्नुहोस् खानेपानीमन्त्री समक्ष बुझाएको ज्ञापन पत्रः


1049 पटक हेरिएको 

