मकवानपुर : मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाले खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) लाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (RNN) र Welthungerhilfe (WHH) को सहयोगमा तयार पारिएको वास प्लान कार्यपालिका बैठकबाट स्वीकृत भइसकेकाले यसलाई हस्तान्तरण गरी कार्यान्वयन गर्ने निर्णय गरिएको हो ।
Welthungerhilfe को आर्थिक र प्राविधिक सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस्थाद्वारा संचालित “खानेपानी सरसफाइ तथा स्वच्छता प्रणालीहरुको सुदृढीकरण तथा व्यवहार परिवर्तन परियोजना”अन्तर्गत राक्सिराङ गाउँपालिकाको खानेपानी, सरसफाइ र स्वच्छता योजना (२०२३–२०३३) तयार पारिएको हो ।
राक्सिराङ गाउँपालिका स्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति (RM-WASH-CC) का अध्यक्ष राज कुमार मल्लको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमको अर्धबार्षिक समीक्षा गरिनुका साथै वास प्लान कार्यान्वयन गर्ने देखि वास सँग सम्बन्धित अन्य निर्णयहरु समेत गरिएको छ ।
यी हुन् थप निर्णयहरु :
√ पानी गुणस्तर परीक्षण लघु प्रयोगशाला राक्सिराङ गा.पा., वडा नं. ५ स्थित ठाडेचुरी अस्पतालमा स्थापना भएकोेले यसलाई दिगो रुपमा संचालन र व्यवस्थापन गर्न गा.पा.ले सक्रियता र अगुवाइ गर्नेे ।
√ खुल्ला दिसामुक्त क्षेत्र तथा सरसफाइ अभियान सञ्चालनलाई तिब्रता दिन संस्थाको सहजिकरणमा गाउँपालिकाद्वारा शौचालय कार्ड तयार गरी जारी गर्ने ।
√ पालिकाको खानेपानी तथा सरसफाइ ऐनको मस्यौदा संस्थाको सहजिकरणमा तयार गर्ने ।
√ दिगो खानेपानी सरसफाइ तथा स्वच्छता प्रणाली सबलीकरणका आधार स्तम्भका सूचकहरु बारेमा छलफल गरी नौ वटा आधार स्तम्भहरुको विद्यमान अवस्थाको स्तरीकरण गरिएको ।
√ वडा तहमा खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी भए गरेका क्रियाकलापहरुको प्रत्येक वडाका वडा अध्यक्ष तथा प्रतिनितिहरुले समीक्षा समेत गरेका छन्।
दिगो खानेपानी सरसफाइ तथा स्वच्छता प्रणाली सबलीकरणका आधार स्तम्भहरु सम्बन्धी कार्यशाला (SSI Workshop) मा प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले समुदायको व्यवहार परिवर्तन गर्ने कार्य अत्यन्तै चुनौतीपुर्ण रहेको र निरन्तरको प्रयास र प्रयत्नले मात्र सार्थक हुने बताउनुभयो । उहाँले गाउँपालिकाको NWASH लाई अध्यावधिक गर्ने जनशक्तिलाई क्षमता अभिबृदि तालिम आवश्यक भएको र वासको क्षेत्रमा सचेतीकरण गर्न महिला स्वयं सेविकालाई परिचालन गर्ने गरेको बताउनु भयो ।
यस्तै पालिकाका वास फोकल पर्सन सान्तनु टिबडेवालले वास प्रणाली सबलीकरणका आधार स्तम्भहरु (SSI) मा कम स्कोर आएको सुचकहरुलाई ध्यानमा राखी आगामी दिनमा कार्य गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भैरहेका कार्यक्रमलाई चुस्त दुरुस्त बनाउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले खानेपानी, सरसफाइ स्वच्छता सम्बन्धमा संस्थाले राम्रो कार्य गरिरहेको उल्लेख गर्दै यस प्रयासले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो।
‘संस्थाको सहजीकरणले कुपोषण न्युनीकरणमा ठुलो सहयोग पुगेको महसुस गरेको छु’ उहाँले भन्नुभयो ‘सामान्य सरसफाइमा समेत ख्याल नगरिएको कारणले विभिन्न खालको रोगको सामना गर्नु परिरहेकाले औषधी उपचारमा खर्च भैरहेको छ ।’
उहाँले पालिकामै स्थापना गरिएको पानी गुणस्तर परिक्षण मिनी ल्याबले समुदायमा सचेतीकरण ल्याई जनस्वास्थ्यमा सकारात्मक सुधार देखिने अपेक्षा गर्नुभयो।