बाढीले ल्याएको फोहोर व्यबस्थापन गर्न ललितपुरमा २ हजार स्वयंसेवक खटिने

  वास खबर सम्वाददाता  131 पटक हेरिएको

काठमाडौं : बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहोर संकलन गर्ने र उठाउने काम ललितपुर महानगरपालिकाले शनिबार देखि थाल्ने भएको छ । बाढीले नख्खु र बागमती नदी किनारमा थुपारेका फोहोर संकलन गर्न २ हजार भन्दा बढी स्वयंसेवक खटिने महानगरपालिकाले जनाएको छ ।

नदी किनारमा थुप्रिएका फोहोरमैला सरसफाइ सम्बन्धी तयारी बैठकमा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन बाढीले बगाएर ल्याएको फोहोर शनिबार देखि उठाउने जानकारी गराउनु भएको हो। ‘बिहान ७ बजे तोकिएको ठाउँमा जम्मा होऔं, हेर्दा नै लाज लाग्ने गरी छरपष्ट प्लाष्टिक, कागज र कपडा संकलन गरौं, सफा नभएसम्म गर्छौं,’ बैठकमा मेयर महर्जनले भन्नुभयो।

११ र १२ असोजमा आएको बाढीले अन्यत्रबाट बगाएर ल्याएको प्लास्टिक लगायत फोहोरले ललितपुर सहरको सौन्दर्य नै बिगारेको उहाँको भनाइ छ । नख्खु र बागमती नदी किनारलाई प्लास्टिकले छपक्कै छोप्दा लुगा सुकाए जस्तो देखिएको उहाँले बताउनुभयो। फोहोर संकलनका लागि ज्यापु समाज ललितपुर, यल नेवा समाज, जिल्ला बहुउद्देश्यीय संघ ललितपुर, सहकारी संघ ललितपुर लगायत अन्य जातीय संघसंस्थाले आफ्ना प्रतिनिधि ल्याउने जनाएका छन् ।

महानगरको सरसफाइ कार्यक्रममा नगर प्रहरी, कर्मचारी पनि सहभागी हुनेछन् । महानगरले सफाइ अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेको छ ।उपप्रमुख मञ्जली शाक्य बज्राचार्य बाढीले महानगरकोे सौन्दर्य ह्रास ल्याएको बताउनुभयो । वातावरण संरक्षण दायित्व सबैको भएको उहाँको भनाइ छ ।बाढीबाट कम प्रभावित वडाले बढी प्रभावितसँग हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याउँदै सफाइ अभियान निरन्तर चल्ने उहाँको भनाइ छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले सरसफाइ अभियानमा जुट्न सबैलाई अनुरोध गर्नुभयो । स्थलगत अनुगमनमा जाँदा सोचेभन्दा धेरै क्षति भएको अवस्था देखिएको उहाँले बताउनुभयो।

महानगर प्रवक्ता तथा वडा नम्बर ९ का अध्यक्ष राजु महर्जनका अनुसार नदी किनारमा रहेका वडाहरू बाढीबाट धेरै प्रभावित भएका छन् । वडा नम्बर ५, ६, १२, १६, १५, १९ र २० बाहेक अन्य वडा बाढीबाट प्रभावित छन्। प्रवक्ता महर्जनले फोहोर संकलनका लागि क्लस्टर बनाएर स्वयंसेवक परिचालन गरिने बबताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार