उत्कृष्ट कार्य गर्ने २ जना वास च्याम्पियनलाई नगरसभाबाट नगद सहित सम्मान गरिने

  वास खबर सम्बाददाता  204 पटक हेरिएको


सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिकाले उत्कृष्ट कार्य गर्ने २ जना वास च्याम्पियनलाई नगरसभाबाट नगद सहित सम्मान गर्ने भएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छता सामाजिक परिचालक (वास च्याम्पियन) हरुका लागि आयोजित क्षमता विकास तालिममा नगर प्रमुख रमेश कार्कीले समुदायमा राम्रो कार्य सम्पादन गर्ने वास च्याम्पियनहरु मध्ये २ जनालाई नगद पुरस्कार सहित नगरसभाबाट सम्मान गर्ने घोषणा गर्नुभएको हो ।

उहाँले बराहक्षेत्र नगरपालिकाले सरसफाइलाई पनि समान महत्व दिदै आएको र प्रत्येक सरसफाइ कार्यक्रममा खबर भए सम्म समुदायमा सहभागी हुने बचन समेत व्यक्त गर्नुभयो।

नगरपालिकाले समुदायमा खानेपानी, सरसफाइ तथा स्वच्छता प्रबर्द्वनका लागि ११ जना सामाजिक परिचालक (वास च्याम्पियन) हरु समुदायमा परिचालन गर्दै आएको बराहक्षेत्र नगरपालिकाको खानेपानी तथा सरसफाइ शाखा प्रमुख मोतिलाल चौधरीले जानकारी दिनुभयो।


वास च्याम्पिनयहरुका लागि आयोजित क्षमता विकास तालिममा नगर उपप्रमुख नन्द कुमारी सुनुवारले सुनसरीको १२ वटा स्थानीय तह मध्ये बराहक्षेत्र नगरपालिकाले मात्र वास च्याम्पियनहरु परिचालन गरेको बताउनुभयो। उहाँले आफू पनि महिला स्वास्थ्य स्वयं सेविकाबाट यो स्थानमा आईपुगेको जानकारी गराउँदै वास च्याम्पियनहरुले पनि क्षमता विकास गरी उपल्लो स्थानमा पुग्न सकिने बताउनुभयो ।

टास्क फोर्स समितिका संयोजक एवं वडा नं. ३ का अध्यक्ष राजदिप लामाको अध्यक्षतामा सञ्चालित तालिममा प्रमुख प्रशासकीय अधिकृत गणेश ब. कटुवालले वास च्याम्पियनहरु पालिकाको जिम्मेवार व्यक्ति भएकाले हर समयमा तत्परता देखाएर कार्य सम्पादन गर्न आग्रह गर्नुभयो । ‘समुदायले मलाई भन्दा बढी तपाईहरुलाई चिन्दछन्, खानेपानी, सरसफाइ र स्वच्छताको सवालमा तपाईहरुको भूमिका अहम् छ’ उहाँले भन्नुभयो।


तालिमका अध्यक्ष एवं वडा नं. ३ का अध्यक्ष राजदिप लामाले वास च्याम्पियनको मासिक पारिश्रमिक कम भएकोले वडा नं. ३ ले प्रोत्साहन भत्ता स्वरुप २० हजार रुपैयाँ वडाको वास च्याम्पियनलाई प्रदान गर्ने बताउनुभयो । उहाँले समुदायमा शौचालय नभएका र खानेपानीको पहुँच नपुगेको परिवारलाई वडा र नगरबाट पनि सहयोग गर्ने र बजेट अभाव भएपनि खानेपानी र सरसफाइलाई महत्व दिर्दै कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।

तालिमको सहजीकरण तालिम प्रशिक्षक हरि बुढाथोकीले गर्नुभएको थियो। ‘खुलादिसामुक्त अवस्थाको दिगोपना, पूर्ण सरसफाइ र यसका सूचकहरु, समता र समानता, दिसान्जय लेदो व्यबस्थापन, नेतृत्व विकास, बजेट तर्जुमा, पानी शुद्धिकरण, धारा, ट्युबेल बीचको सम्बन्ध, पानी परिक्षण’ लगायत तालिमका बिषयबस्तु रहेको खानेपानी तथा सरसफाइ शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो।

तालिममा ११ जना वास च्याम्पियनहरु सहभागी थिए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार