काठमाडौ : काठमाडौ उपत्यकामा पनि छठ पर्व मनाउने तयारी सुरु भइसकेपछि बाग्मती नदीमा पानीको सतह बढाउने पनि तयारी भइरहेको छ । बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत बाग्मती सुधार आयोजनाले छठ पर्वमा धाप ड्यामको पानी वाग्मती नदीमा छाड्ने तयारी गरिहेको जनाएको छ । वाग्मती नदीमा पानीको सतह बढाउन र व्रर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले ड्यामको पानी नदीमा छाड्ने तयारी गरेको हो ।
आयोजनाका उप–निर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले बुधबार साँझदेखि पानी नदीमा छाड्ने तयारी भइरहेको जानकारी दिनुभयो । “धाप ड्यामको पानी छाडेपछि पशुपति क्षेत्रसम्म आइपुग्नका लागि १४ घण्टा लाग्छ, तसर्थ छठको अघिल्लो दिनबाटै पानी छाड्ने तयारी गरेका हौँ”, उहाँले भन्नुभयो, “विषेश दिनमा हामीले ड्यामको पानी वागमतीमा छाड्दै आएका छौँ ।”
समितिले छठ पर्वको दुई दिनसम्म वाग्मती नदीमा प्रतिसेकेण्ड चार सय लिटर पानी छाड्ने तयारी गरिरहेको जनाएको छ । “ड्यामको पानी नदीमा छाड्दा व्रतालुको घुँडासम्म पानी आउने अनुमान गरेका छौँ, त्यसो हुँदा व्रतालुहरुलाई स्नान गर्न र पानी चढाउन सहज हुन्छ”, नेपालले भन्नुभयो।”
मेलम्चीले दैनिक १० करोड लिटर दिन सकिने
मेलम्ची खानेपानी विकास समितिले समेत दैनिक सात करोड लिटर पानी वागमतीमा पठाईरहेको छ । मेलम्ची नदीबाट पथान्तरण गरिएको २५ करोड लिटर पानी मध्ये १८ करोड लिटर काठमाडौ उपत्यकामा वितरण हुँदै आएको र बाँकी ७ करोड लिटर पानी वाग्मती नदीमा पठाईरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।
समितिले अझ आधिकारिक रुपमा पानी छाड्न आग्रह गरिएको खण्डमा दैनिक १० करोड लिटरसम्म मेलम्चीको पानी उपलब्ध गराउन सकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो । “मनसुनजन्य विपद्बाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउनका लागि केही महिना आयोजना नै बन्द गर्नुपरेको थियो, त्यसबेला धाप ड्यामकै पानी ल्याएर काठमाडौँका उपभोक्तालाई खानेपानीको आवश्यकता पूरा गरेका थियौ”, उहाँले भन्नुभयो, “हामीले सापटीका रुपमा पानी ल्याएका थियौ, अहिले दैनिक पाँच करोड लिटरसम्म बढी भएको पानी वाग्मती नदीमै बगाएका छौँ, आवश्यक परेमा छठ पर्वको समयमा दैनिक १० करोड लिटरसम्म पानी वाग्मती नदीमा बगाउन सक्छौँ ।”
मेलम्ची खानेपानी आयोजनाबाट हाल दैनिक २५ करोड लिटर बराबरको खानेपानी उपत्यकामा दैनिक आउने गरेको उहाँको भनाइ छ । लामिछानेले उपभोक्तामा २५ करोड लिटर पानी नै खपत नभएपछि बाँकी रहेको पानी वाग्मती नदमा पानीको सतह बढाउन छाडिने गरेको बताउनुभएको छ ।
काठमाडौँ उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाम ड्याम धार्मिक, सांस्कृतिक एवं इतिहाससँग पनि गाँसिएको छ । योसँगै यस ड्यामले वाग्मती नदीमा पानीको सतह बढाएर नदीको सौन्दर्यता कायम गर्न समेत सहयोग पुगेको समितिको भनाइ छ ।
धाम ड्याम निर्माण सम्पन्न भइसकेपछि ड्याम अवलोकन गर्न जानेहरुको पनि चहलपहल बढेको छ । काठमाडौँको चाबहिलबाट करिब ३५ किलोमिटर दूरीमा रहेको यो ड्यामको अवधारणा झण्डै एक दशक अगाडि सुरु भएको थियो । दुई वर्षअघि मात्रै यसको उद्घाटन भएको थियो । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जका वार्डेन दिलबहादुर पुनले धाप ड्याम निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्न थालेको जानकारी दिनुभएको छ ।
वर्खामा जम्मा गर्ने, हिउँदमा छाड्ने
धाम ड्याममा बर्खामा आकाशबाट परेको पानी जम्मा गर्ने र हिउँदको समयमा वाग्मती नदीमा छाड्ने लक्ष्यका साथ आयोजना निर्माण गरिएको थियो । वर्खामा यहाँ जम्मा गरिएको पानी हिउँदको समयमा प्रतिसेकेन्ड चार सय प्रतिलिटरका दरले वाग्मतीमा छोडिने आयोजनाको लक्ष्य छ ।
एशियाली विकास बैंकको रु ८९ करोड सहयोगमा निर्माण भएको जलाशययुक्त धाप ड्यामबाट मुख्य पर्वमा वाग्मती नदीमा पानी छोड्ने गरिन्छ । ड्यामको लम्बाइ एक सय ७४ दशमलव सात मिटर र चौडाइ आठ मिटर रहेको छ । बाँध निर्माणपछि बनेको जलाशयको क्षेत्रफल १५ हेक्टर रहेको छ । आयोजनाका अनुसार यो ड्याममा हाल साढे १३ लाख घनमिटर पानी जम्मा भएको छ ।
धाम ड्याममा जम्मा भएको पानी हिउँदको सुक्खा अवधिभर दैनिक रुपमा वाग्मती नदीमा पानी छाड्ने सरकारको आयोजनाको लक्ष्य कार्यन्वयनमा भने चुनौती देखिएको छ । नदीमा पानीको सतह बढाउन आवश्यकता अनुसार ड्याममा पानी जम्मा हुन नसकेपछि दैनिक रुपमा पानी छाड्न नसकिएको बताउनुहुन्छ उप–निर्देशक नेपालको भनाइ छ ।
“हिउँदको सुक्खा समयमा वाग्मतीमा पानीको सतह बढाउनका लागि प्रतिसेकेण्ड ४० लिटर पानी बगाउने योजना बनाएका थियौ, तर त्यति परिणमले खासै उपलब्धि नहुने रहेछ”, उहाँले भन्नुभयो, “परिणाम देखिनका लागि प्रतिसेकेण्ड चार सय लिटर पानी आवश्यक पर्छ, त्यति पानी छाड्नका लागि ड्यामको क्षमता छैन ।”
उहाँले हाल नागमती ड्याम निर्माणको तयारी भइरहेको र नागमती ड्याम निर्माण सम्पन्न भएपछि नदीमा पानी बढाउन सम्भव रहेको बताउनुभएको छ । “अहिले शिवरात्रिमा तीन दिन, बालाचतुर्दशीमा दुई दिन, मातातिर्थ औसीमा एक दिन, छठ पर्वमा दुई दिन, मकर संक्रान्तीमा एक दिन पानी छाड्छौ । यसैगरी हरिबोधनी एकदशीमा एक दिन, माधव नारायण मेलाको पहिलो र अन्तिम दिन गरी दुई दिन, रामनवमीमा एक दिन, नयाँ वर्षमा एक दिन ड्यामको पानी वाग्मती नदीमा बगाइन्छ”, उहाँले भन्नुभयो ।