
सिरहा : सिरहा जिल्लाको गोलबजार नगरपालिकाको केन्द्रबाट करिब साढे आठ किलोमिटर उत्तरमा पर्ने गोलामुक्सर गाउँ, आज शान्त, हरियाली र सम्भावनाले भरिएको देखिन्छ। तर केही वर्षअघि यही गाउँको परिचय फरक थियो। खानेपानीको चरम अभावले चिनिएको गोलामुक्सरमा बाँच्नु नै संघर्ष थियो।
एक समय यस्तो पनि थियो, जब यहाँका बासिन्दाले पानीका लागि दिनहुँ घण्टौं समय खर्चिनुपर्थ्यो। गाउँमा ‘जरुवा’मा भर पर्नुपर्ने बाध्यता रहेको स्थानीय जानकी थापाले बताउनुभयो। उहाँका अनुसार त्यो पनि पर्याप्त थिएन। मानिसहरू जमिन खनेर कुवा बनाउँथे र त्यहीँबाट आएको पानी पिउँथे। तर त्यो पानी सुरक्षित पनि थिएन ।

गुलामुक्सर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष प्रेम गगन थापा मगरका अनुसार खानेपानी अभावकै कारण कतिपयले गाउँ नै छाडे। जो बसे, उनीहरूको जीवन कठिनाइले भरिएको थियो, न समयमै खाना बन्ने, न खेतीपाती गर्न सजिलो। दैनिक जीवनको आधारभूत आवश्यकतामै संघर्ष गर्नुपर्ने अवस्था थियो।

यही समस्या समाधान गर्ने प्रतिबद्धता सहित स्थानीय नेतृत्व पनि अघि बढ्यो। वडा नं. ३ का अध्यक्ष धनप्रसाद लामाले दुई पटकसम्म चुनाव जित्दा खानेपानीको व्यवस्था गर्ने वाचा गर्नुभयो। तर प्रयास सजिलो थिएन। तीन सय फिटसम्म बोरिङ गर्दा पनि पानी ननिस्किँदा आशा झन् कमजोर बन्दै गयो। स्थानीय तहको बजेट र प्रयासले मात्र समाधान सम्भव नदेखिएको अवस्था थियो।
तर कहिलेकाहीँ परिवर्तन अप्रत्याशित रूपमा आउँछ।
गोलामुक्सरको यही कठिन समयमा WELT HUNGER HILFE (WHH) र सबल नेपाल गाउँमा पुगे। उनीहरूले नयाँ स्रोत खोज्ने होइन, पुरानै स्रोतलाई व्यवस्थित गर्ने उपाय रोजे। योजनाबद्ध रूपमा मोटर जडान, पाइपलाइन विस्तार र तीनवटा १०/१० हजार लिटर क्षमताका तीन वटा ट्याङ्की राखिदियो।

त्यसपछि सुरु भयो, गोलामुक्सरको नयाँ अध्याय।
आज त्यही गाउँमा ६० घरधुरीमा चौबीसै घण्टा धारा बगिरहेको छ। जहाँ पहिले पानीको एक थोपा पाउन गाह्रो थियो, आज घर-आँगनमै सजिलै पानी उपलब्ध छ।
खानेपानीसँगै गाउँको जीवनशैली पनि बदलिएको छ। बिहानै पानी ल्याउन दौडिनुपर्ने बाध्यता हटेपछि महिलाहरूले समयमै खाना बनाउन पाएको र बालबालिकाहरू समयमै विद्यालय जान थालेको स्थानीय कुमारी मगर बताउनुहुन्छ ।

स्थानीय दीपा लामा पहिलेको दुःखको स्मरण गर्दै भन्नुहुन्छ ‘अहिले पानी घरमै आउनु सपनाजस्तै लाग्छ। पहिलेको दुःख सम्झँदा अहिलेको सहजता झन् मूल्यवान् लाग्छ।’
पानी आएपछि गाउँमा हरियाली पनि बढेको छ। घरछेउमै तरकारी खेती हुन थालेको छ, प्याज, लसुन, आलु, रायोको साग, चम्सुर‘। पानीले केवल तिर्खा मेटाएको छैन, पोषण र आत्मनिर्भरता पनि बढाएको छ।
अझ रोचक कुरा के छ भने गोलामुक्सर छाडेर गएकाहरू पनि फर्किन थालेका छन्। गुलामुक्सर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष प्रेम गगन थापा मगर भन्नुहुन्छ ‘जो कहिल्यै नफर्किने भन्दै गाउँ छाडेका थिए, उनीहरू अहिले घर बनाउन थालेका छन्। खानेपानीले गाउँमा जीवन मात्र होइन, भविष्य पनि फर्काएको छ।’

यो परिवर्तनलाई दीगो बनाउन गाउँमा समावेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरिएको छ। समितिले आफ्नै विधान अनुसार काम गर्छ, नयाँ धारा जडानदेखि मर्मत, महसुल संकलनदेखि व्यवस्थापनसम्म सबै प्रक्रिया व्यवस्थित छ।
प्रत्येक घरधुरीले न्यूनतम शुल्क तिरेर पानी उपभोग गर्छन्, जसले प्रणालीको सञ्चालन र मर्मतलाई निरन्तरता दिन सहयोग पुर्याउँछ। यसले समुदायमै स्वामित्वको भावना पनि विकास गरेको छ।
स्रोतको अभाव होइन, व्यवस्थापनको कमी समस्या हो भन्ने सन्देश प्रवाह गर्न आज गोलामुक्सर एउटा उदाहरण बनेको छ।


589 पटक हेरिएको 

