WWN Road Run 2026 : 10 KM for 1K Women सफलतापूर्वक सम्पन्न

  वास खबर सम्बाददाता  258 पटक हेरिएको
🔗
25
Shares

ललितपुर : महिनावारी स्वच्छता तथा स्वास्थ्य व्यवस्थापन सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै ग्रामीण तथा विपन्न समुदायका महिलाहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले वाइन टु वाटर नेपालद्वारा आयोजित ‘WWN Road Run 2026 : 10 KM for 1K Women’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

पाटन दरबार स्क्वायरमा बिहान ६:४५ बजेबाट सुरु भएको उक्त कार्यक्रम वाइन टु वाटर नेपालले काम गर्दै आएको १६ वटा समुदायमा रहेका १,००० महिलाहरूलाई महिनावारी स्वच्छता सम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै प्याड वितरणका लागि आवश्यक सहयोग संकलन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ ।

महिनावारी स्वास्थ्य तथा सरसफाइ दिवस २०२६ को अवसरमा आयोजना गरिएको यस कार्यक्रमले खेलकुद, सामाजिक उत्तरदायित्व तथा स्वास्थ्य सचेतनालाई एकै साथ जोड्ने प्रयास गरेको थियो । कार्यक्रममा सहभागी धावकहरूलाई उमेर तथा समावेशिताको आधारमा ६ वटा विधामा विभाजन गरिएको थियो ।

जस अन्तर्गत १६ वर्षमुनि, १६–३५ वर्ष, ३५–५० वर्ष, ५० वर्षमाथि, प्रोफेशनल रनर तथा फरक क्षमता भएका व्यक्तिहरूको छुट्टाछुट्टै सहभागिता र प्रतिस्पर्धा रहेको थियो । कार्यक्रमको विशेष सन्देश महिनावारी अनुभव र दौडबीचको भावनात्मक सम्बन्धसँग जोडिएको थियो । पहिलो पटक महिनावारी हुँदा किशोरीहरूमा उत्साह र जिज्ञासा उत्पन्न भएजस्तै, दौड सुरु गर्दा सहभागीहरूमा उत्साह देखिन्छ ।

तर निरन्तर दौडिँदा शरीर थकित भएजस्तै महिलाहरूले लगातार महिनावारीको समयमा शारीरिक तथा मानसिक असहजता अनुभव गर्ने अवस्था पनि समाजले बुझ्न आवश्यक रहेको सन्देश कार्यक्रममार्फत प्रवाह गरिएको थियो । कार्यक्रम सफल बनाउन जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगरपालिका, सरकारी निकाय, विभिन्न साझेदार संस्था, ट्राफिक प्रहरी, स्वयंसेवक, सहभागीहरू, , सञ्चारकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्ति तथा संस्थाहरूलाई वाइन टु वाटर नेपालका राष्ट्रिय निर्देशक नीजन श्रेष्ठले विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो ।

वाइन टु वाटर नेपाल सन् २०१६ देखि नेपालमा सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रमा कार्यरत नाफा वितरण नगर्ने संस्था हो । संस्थाले ग्रामीण तथा पहुँचविहीन समुदायमा स्वच्छ पानी, सरसफाइ तथा स्वास्थ्यसम्बन्धी सेवामा पहुँच विस्तार गर्दै महिला तथा बालबालिकाको जीवनस्तर सुधार, जिबिको पार्जन तथा आय आर्जन का क्रियाकलाप लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यस कार्यक्रमबाट संकलित सहयोग १६ समुदायका १००० जना महिला हरुलाई महिनावारी स्वास्थ्य तथा सरसफाइ सम्बन्धी शिक्षा, जनचेतना अभिवृद्धि तथा प्याड वितरण कार्यक्रममा प्रयोग गरिने आयोजकले जनाएको छ ।

फोटोहरु : शैली चित्रकार/वाइन टु वाटर


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार