म्याग्दी : अदालतको परमादेशलाई समेत लत्याउँदै बेनी नगरपालिकाले बेनीबजारबाट निस्कने फोहोर कालीगण्डकी नदीमै विसर्जन गर्दै आएको छ । साबिक पुनरावेदन अदालत बागलुङले २०६५ सालमै जारी गरेको परमादेश बाग्लुङ नगरपालिकाले पालना गरेपनि बेनी नगरपालिकाले भने अटेर गरेर अहिलेसम्म पनि कार्यान्वयन नगरेको हो ।
अदालतले कालीगण्डकी नदीमा फोहोरमैला नफाल्न नगरपालिकालाई निषेधाज्ञा परमादेश जारी गरेको थियो । अदालतको परमादेशपछि बाग्लुङ नगरपालिकाले ठाउँ परिवर्तन गरेर कालीगण्डकी कोरिडोरको छेउमा फोहोर फाल्दै आएको छ ।
बेनीबजारदेखि २ किमि माथि कालीगण्डकी नदीमा २०६० साल देखि फाल्न थालेको फोहोर स्थानीय सरकार गठन भएपछि पनि नदीमै फाल्दै आएको छ । बेनी बजारबाट दैनिक घर तथा पसलबाट ५ टन, स्वास्थ्य संस्थाबाट २ टन र औद्योगिक क्षेत्रबाट ३ टन गरी करिब १० टन फोहोर उत्सर्जन हुन्छ ।
ल्यान्डफिल साइट बनाउने जग्गा फेला नपरेकाले हाललाई फोहोर फालिँदै आएको नगरपालिकाका इन्जिनियर विमलरञ्जन कार्कीले बताउनुभयो । सेती पहिरो नजिक कालीगण्डकी नदी किनारालाई सुधार गरी प्रयोग गर्ने, जैविक र अजैविक फोहोर छुट्याउने र उपयोग गर्न मिल्ने सम्मका सामग्री रिसाइकल गराउने योजना रहेको उहाँले बताउनुभयो ।
बेनी नगरपालिकाले ल्याण्डफिल साइट बनाउने जग्गा नभएकाले धार्मिक दृष्टिले पवित्र मानिएको कालीगण्डकीमा फोहोर फाल्नुपर्ने बाध्यता रहेको बताउँदै आएको छ ।
फोहोरमैला व्यवस्थापन ऐन २०६८ ले नदीमा फोहोर फाल्न नहुने जनाएको छ । तर ऐन कार्यान्वयन गर्ने निकाय नगरपालिकाले समेत जग्गा अभावको कारण देखाउँदै नदीमा फोहोर फाल्दै आएको छ ।
स्थानीय सरकार गठन भएपछि फोहोर व्यवस्थापनको काममा ठोस पहल हुने आशा बोकेका बासिन्दा समेत जनप्रतिनिधीले समेत नदीमै फोहोर विसर्जन गरेपछि निराश भएका छन् ।


1080 पटक हेरिएको 

