काठमाडौ : ‘यहाँ फोहोर फाल्न सख्त मनाही छ, फोहोर फालेमा ५ हजार जरिवाना तिराईनेछ’ जथाभावी फोहोर फाल्नेलाई सतर्क गराउन लेखिएका यस्ता नारा अब कानुुन बनेर आएको छ । आजदेखि लागु भएको मुलुकी अपराध संहिता ऐन – २०७४ ले फोहोरमैलाको उत्पादन, प्रसारण वा निष्काशन गर्ने वा थुपार्नेलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।
संहितामा भनिएको छ ‘वातावरणमा प्रतिकूल प्रभाव पु-याउने गरी फोहोरमैलाको उत्पादन, प्रसारण वा निष्काशन गर्न वा थुपार्न बन्देज गरिएको छ यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।’
त्यस्तै कसैले सर्वसाधारणको स्वास्थ्यमा हानी पु-याउने गरी वा जीउ ज्यानको लागि खतरा हुन सक्ने गरी प्रदूषण गर्न वा कानून बमोजिम अधिकार प्राप्त अधिकारीको इजाजत विना यान्त्रिक साधनबाट ध्वनि, ताप, रेडियोधर्मी विकिरण वा जोखिमपूर्ण फोहोरमैलाको उत्पादन, प्रसारण वा निष्काशन गरे कैद वा दण्ड जरिवाना तिर्नुपर्नेछ ।
उक्त व्यवस्था अनुसार अब सवारी साधन, कलकारखाना आदिले चर्को ध्वनि निकाल्न पाउने छैनन् ।
उक्त कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने मुलुकी अपराध संहिता ऐनले व्यवस्था गरेको छ ।


2067 पटक हेरिएको 

