रूपन्देही : रूपन्देहीको तिलोत्तमा नगरपालिकामा पूर्ण सरसफाइ अभियान सुरु भएको छ । नगरपालिकाको सहकार्यमा आनन्दवन शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले अभियान सुरु गरेको हो । मणिग्राममा प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अभियानको उदघाटन गर्नुुभयो ।
पहिलो चरणमा संस्थाको कार्यक्षेत्रमा झण्डै ११ हजार डष्टबिन वितरण गरिने समितिका अध्यक्ष केशवराज न्यौपानेले जानकारी दिनुुभयो । उहाँका अनुुसार उपभोक्तालाई कुहिने र नकुहिने फोहोर संकलन गर्न २/२ थान डष्टबिन वितरण सुरु गरिएको छ ।
समितिले उपभोक्तालाई वितरण गरिएको रातो डष्टबिनमा सड्ने र निलोमा नसड्ने फोहोर राख्नुपर्ने नियम बनाएको छ ।
अभियान कार्यान्वयनका लागि संस्थाले पूर्ण सरसफाइ कार्यान्वयन कार्यविधि जारी गरेको छ । कार्यविधिमा पूर्णसरसफाइ अभियानमा उत्कृष्ट काम गर्नेलाई पुरस्कृत र लापरवाही गर्नेलाई जरिवानाको व्यवस्था समेत गरिएको छ ।
अध्यक्ष न्यौपानेले समितिको कार्यक्षेत्रलाई दुई वर्षभित्र पूर्ण सरसफाइयुक्त बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुुभयो । उपभोक्तालाई पूर्णसरसफाइ र फोहोर व्यवस्थापन सम्बन्धी जानकारी गराउन प्रत्येक सेवा क्षेत्रमा पूर्णसरसफाइ कार्यान्वयन समिति रहने उहाँले बताउनुुभयो ।
नगर प्रमुख बासुदेव घिमिरेले स्रोतबाटै फोहोरको वर्गीकरणले व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै तिलोत्तमा नगरपालिकामा फोहोरको दीर्घकालीन र वैज्ञानिक व्यवस्थापनका बारेमा छलफल भइरहेको जानकारी दिनुुभयो । पूर्णसरसफाइ अभियान नगरका अन्य वडाहरूमा समेत क्रमशः सञ्चालन गरिने उहाँले जानकारी गराउनुुभयो ।
यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख बासुदेव पौडेलले जिल्लामैं पहिलो पटक तिलोत्तमाले पूर्णसरसफाइ अभियानलाई कार्यान्वयनको चरणमा ल्याएको बताउनुुभयो ।