फोहोरबाट ऊर्जा उत्पादन गर्न सम्झौता, २० बर्षपछि नगरपालिकालाई हन्तान्तरण गरिने

दाङ : दाङको घोराही उपमहानगरपालिकाले सड्ने फोहोरबाट ऊर्जा उत्पादन गर्ने तयारी गरेको छ । फोहोरबाट उर्जा उत्पादनका लागि उपमहानगरपालिकाले नेपाल इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिसँग सम्झौता गरिसकेको छ ।

उपमहानगरपालिकाले फोहोरबाट ऊर्जा उत्पादन गर्न लगानी गर्न चाहने कम्पनीलाई गतबर्ष नै बोलपत्र माग गरेको थियो । बोलपत्रमा नेपाल इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिको मात्र निवेदन परेपछि प्रालिसँग फोहोरबाट ऊर्जा उत्पादन गर्न सम्झौता गरेको हो ।

कम्पनीसँग उपमहानगरपालिकाले २० वर्षका लागि सम्झौता गरेको र अब उर्जा उत्पादनका लागि संरचना निर्माणको काम शुरु हुने घोराही उपमहानगरपालिकाका इञ्जिनियर रामधन श्रेष्ठले जानकारी दिनुुभयो ।

सम्झौतामा कम्तीमा १० करोड रुपैयाँको लगानीमा फोहोरबाट उर्जा उत्पादन हुने उल्लेख छ । त्यसको लागि सरकारले ४० प्रतिशत दिने र ६० प्रतिशत रकम आफैँ कम्पनीले लगानी गर्नुपर्ने छ । सम्झौता अनुसार कम्पनीले ग्यास प्लान्ट निर्माण र अन्य आवश्यक पूर्वाधारसमेत आफैँ निर्माण गर्नुपर्नेछ ।

कम्पनीसँग भएको सम्झौता अनुसार २० वर्षसम्म कम्पनीले फोहोरबाट उर्जा उत्पादन गर्नेछ । सम्झौता सकिएपछि कम्पनीले उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्नेछ । गल्ने फोहोरबाट ग्यास उत्पादन गरी बजार व्यवस्थापन गर्ने जिम्मा पनि कम्पनीकै हुने नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिनुुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार