काठमाडौ : पशुपतिनाथ क्षेत्रको जङ्गलमा गाडीमा फोहोर हालेर फाल्दै गरेका चालकलाई स्थानीय बासिन्दाले पक्राउ गरी महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएका छन् ।
आइतबार राती तिलगङगा – गुह्येश्वरी मार्गमा फोहोर फाल्ने प्रयास गरिरहेका बा २ ख २६८८ नं को ट्रक चालक सुदीप खड्कालाई स्थानीयले समातेर प्रहरी कार्यालयमा बुुझाएका हुन् ।
चालक खड्कालाई रातभर नियन्त्रणमा राखी कारवाहीका लागि वडा कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक सुनील मल्लले बताउनुभयो ।
काठमाडौँ महानगरपालिका वडा नं ८ को कार्यालयले सवारी चालक खड्कालाई आगामी दिनमा फोहर नफाल्ने शर्तमा पाँच हजार रुपैयाँ जरिवाना गरेर छोडिदिएको वडा अध्यक्ष दिनेश डङ्गोलले जानकारी दिनुभयो । चालकले बबरमहलबाट फोहोर लगेर पशुपति जङ्गलमा फाल्न खोजेका थिए ।