सिन्धुपाल्चोक १७ चैत्र । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब ४.१ किलोमिटर मात्र बाँकी रहेको छ । सिन्धुपाल्चोकको हेलम्बुको अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये अब ४.१ किलोमिटर मात्र बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अब हेलम्बुबाट ग्यालथुमखण्डमा दुई किमी र ग्यालथुमबाट सिन्धुखण्डमा २।१ किमी सुरुङ निर्माण गर्न बाँकी छ । आगामी दशैसम्म काठमाडौबासीलाई खानेपानी वितरण गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँले बताउनुभयो ।
सिन्धुखण्डको सुरुङमा कमसल भूभाग भेटिएकाले समस्या देखा परेको छ । सो खण्डमा कमजोर चट्टान भएको भनी ठेकेदार कम्पनीले वैकल्पिक उपायका लागि प्रस्ताव पेस गरेकाले त्यसको अध्ययन भइरहेको हुँदा सम्भाव्यता देखिएमा वैकल्पिक उपाय अपनाइने दुवाडीले बताउनुभयो ।
हाल चार स्थानबाट एकैसाथ दैनिक २० मिटरका दरले सुरुङ खन्ने काम भइरहेकामा अबदेखि दैनिक २५ देखि ३० मिटर खन्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । आयोजनाको सबैभन्दा लामो सिन्धु अडिटबाट सुन्दरीजलसम्मको ९.५ किमी सुरुङ यसअघि नै सम्पन्न भइसकेको छ । रासस