काठमाडौ : दशैं बिदा हुनुभन्दा अघिल्लो दिनसम्म पनि तनखा पाउने आशा मरेको थिएन उनीहरुको । काम गरेको दिनको तलब त कसो नपाउँला भनेर आफ्नो कार्यालय र सरकारसँग आशावादी थिए ती कर्मचारी । तर कर्मचारीले सरकारसँग राखेको भरोसा व्यर्थ भयो, जत्तिबेला दशैं जस्तो चाडमा पनि ती कर्मचारी सरकारलाई धिक्कार्दै रित्तो हात घर जानुप-यो ।
खानेपानी मन्त्रालय अन्तर्गत प्रदेश २ र प्रदेश ५ का कर्मचारी र केही अन्य मन्त्रालय मातहतका कर्मचारीले दशैंमा पनि तलब नपाएका हुन् । एक महिनाको होइन, तीन/तीन महिना र दशैं खर्च समेत ।
‘विगतमा महिनावारी तलब पाउँदै आएका कर्मचारीले तीन तीन महिना तलब नपाउँदा कसरी घरपरिवार चलायो होला ? श्रीमानको तलबले दशैं मनाउने गृहिणीले कति आँसु बगाएका होलान् ? बालबच्चाको माग पूरा गर्न नसक्दा स्वयं मलाई कस्तो भयो होला ? कसैले अनुमान गर्न सकिन्न ।’ एक कर्मचारीले भने ।
प्रदेश २ का ८४ जना र प्रदेश ५ का ८४ गरी १६८ जना कर्मचारीको दशैं खल्लो भएको हो । प्रदेश २ अन्तर्गतका जिल्लाहरुमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन र सवडिभिजन कार्यालयहरुमा ४ जना सिनियर डिभिज्नल इञ्जिनियर, १२ जना इन्जिनियर, १६जना सब इन्जिनियर, ४ जना नायब सुब्बा, ४ जना लेखापाल, ४ जना कम्प्युटर अपरेटर, २४ जना खानेपानी सरसफाइ टेक्निसियन ४ जना महिला कार्यकर्ता, ४ जना हलुका सवारी चालक र ८ जना कार्यालय सहयोगी गरी ८४ जना कार्यरत छन् ।
उत्ति नै संख्यामा कार्यरत प्रदेश नं. ५ को दाङ, बाँके र बर्दिया जिल्लाको डिभिजन कार्यालयहरुमा कार्यरत कर्मचारीले भने कार्यालय खुला रहने अन्तिम दिन तलब बुझेका छन् । प्रदेश ५ का बाँकी जिल्लाहरु पाल्पा, रुपन्देही, अर्घाखाँची, प्युठान, गुल्मी, रोल्पा, रुकुम पूर्व, नवलपरासी पश्चित लगायत जिल्लामा कार्यरत कर्मचारीले पनि दशैंमा तलब पाएनन् ।
प्रदेश २ मा भौतिक पूर्वाधार सचिव जिबछ मण्डलको अकर्मण्यता र प्रदेश ५ मा केन्द्रबाट ढिला कर्मचारी खटाइएकोले तलब खुवाउन नसकिएको एक डिभिजन प्रमूखले जानकारी गराए।
प्रदेश १, ३, ४, कर्णाली र सुदुरपश्चिम प्रदेशमा प्रदेश सरकार र केन्द्र सरकारबीच समन्वय गरी विभिन्न मोडलमा तलब खुवाइएको क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय काठमाडौका कामु प्रमुख नन्द बञ्जाडेले जानकारी दिनुभयो ।
सरकारी सेवामा कार्यरत स्थायी, अस्थायी तथा करारमा कार्यरत कर्मचारीले दशैंमा पनि तलब नपाएको यो पहिलो घटना हो ।


2078 पटक हेरिएको 

