काठमाडौ : कहिले २०७४ को वैशाख १ गते विहान ५ बजे, कहिले दशैं अघि, कहिले तिहारपछि त कहिले चैत मसान्तभित्र काठमाडौं आईपुग्छ भनेर आश्वासन दिदै आएको मेलम्चीको पानी अब कहिले आउने भन्ने अनिश्चितता थपिएको छ ।
मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको इटालियन कम्पनी सीएमसीले अन्तिम अवस्थामा आएर ठेक्का तोडेपछि मेलम्चीको पानी आउने वा नआउने भन्ने अन्यौल बढेको हो ।
ठेक्का छाडेर आफ्नो देश फर्किन लागेको इटालियन ठेकेदार र सरकार बीच भएको वार्ता समेत निष्कर्ष विनै टुंगिएपछि बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको भविश्य अन्यौलमा परेको हो । खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा सोमबार बेलुकी सिंहदरबारमा ठेकेदार कम्पनीसँग वार्ता भएको थियो ।
‘सरकारले ठेकेदारलाई दिनुपर्ने रकम किस्ताबन्दीमा दिने र ठेकेदारले काम सुरु गर्ने बिषयमा वार्ता भएपनि ठोस सहमति हुन सकेन ।
वार्तामा मन्त्री मगर सहित खानेपानी सचिव गजेन्द्र ठाकुर, पूर्व खानेपानी सचिव भीम उपाध्याय, मेलम्चीका कार्यकारी निर्देशक सूर्यप्रकाश कँडेल र सीएमसीका आयोजना प्रमुख क्रिश्चियानो ग्रेचो र चिफ इन्जिनियर सहभागी थिए ।
रकम अभावका कारण ठेक्का छोडेर भाग्न लागेको खुलासा
इटालियन ठेकेदार सीमएसीले आपूmले दाबी गरेको रकम नपाएपछि काम छाडेर भाग्न लागेको खुलासा भएको छ । कम्पनीले सुरुमा सरकारसँग डेढ अर्ब रुपैयाँ माग दावी गरेको थियो । कम्पनीले मागे बमोजिमको रकमको औचित्य पूरा नभएपछि सरकारले रकम भुक्तानी दिएन ।
यो मुद्दा विवाद निरुपण बोर्ड (डीआरबी) मा पुग्यो । डीआरबीले सरकारले ठेकेदारलाई ३६ करोड रुपैयाँ दिनुपर्ने निर्णय गर्यो तर तीन महिना बितिसक्दा पनि खानेपानी मन्त्रालयले कम्पनीलाई भुक्तानी दिएन ।
कम्पनीले सरकारमार्फत भुक्तानी नपाएपछि काम गर्न नसक्ने पत्र समिति र मन्त्रालयलाई बुझाएपनि मन्त्रालयले खासै चासो दिएन ।
सीएमसी ठूलो आर्थिक संकटमा फसेपछि सरकारलाई थाहा नै नदिई भाग्न खोजेको थियो । सीएमसीले नेपालका सहायक ठेकेदार र आपूर्तिकर्ताहरुलाई समेत करिब एक अर्ब रुपैयाँ तिर्न बाँकी रहेको छ ।


1059 पटक हेरिएको 

