ललितपुर २१ फागुन । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चापागाउँ वितरण प्रणाली पुरानो टयांकीमा जथाभावी औषधि हाल्ने गरेको छ । चापागाउँ, झरुवारासी, ठेचो, धापाखेल, सुनाकोठीलगायत पाटनका बासिन्दाले उपभोग गर्दै आएको पानीमा बिनामापन ब्लिचिङ पाउडर हाल्ने गरिएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले २०६२ मा जारी गरेको पिउने पानी सुरक्षित पार्न ब्लिचिङ पाउडर प्रयोग गर्ने विधिमा हजार लिटर पानीमा २.५ ग्राम र १ लिटरमा ३ थोपा क्लोरिन झोल राख्नुपर्ने प्रावधान छ । एक चिया चम्चा ब्लिचिङ पाउडर ५ ग्रामको हुन्छ ।
क्लोरिन हालेको आधा घण्टापछि मात्र पानीको प्रयोग गर्नुपर्छ । पाउडरको छोक्रा निकाली डोजिङ मेसिनमा हालेर तरल मात्र पानीमा हाल्नुपर्छ ।
तर, केयूकेएलका कर्मचारीले छोक्रासहित ब्लिचिङ हाल्ने गर्छन् । केयूकेएल अन्तर्गत खानेपानी परीक्षण गर्ने छुट्टै ल्याब पनि निष्क्रिय छ । हचुवाका भरमा पाउडर हाल्ने गरेकाले ब्लिचिङ बढी भई पानी तीतो हुने उपभोक्ता बताउँछन् । चापागाउँका चरसुन्दर महर्जनले डोजिङ मेसिन बनाउन केयूकेएललाई पटकपटक भन्दा पनि चासो नदिएको बताए ।
यस्तो पानीले स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने स्वास्थ्यकर्मीको भनाइ छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार क्लोरिनर ब्लिचिङ पाउडर बढी भएको पानी निरन्तर उपभोगले छालामा समस्या हुन सक्छ । आँखा र रगतमा समेत असर पर्न सक्ने उनी बताउँछन् ।
केयूकेएलले मूलडोलस्थित इनारको पानी परीक्षण नै नगरी वितरण गरेको छ । यसको अनुगमनमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले चासो देखाएको छैन । कार्यालयका प्रमुख भवनचन्द्र श्रेष्ठले खानेपानी हेर्ने छुट्टै शाखा रहेको बताए । ‘शाखा प्रमुखलाई अनुगमन गर्न निर्देशन दिन्छौं,’ उनले भने ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार इनारको पानीमा अक्सिजन कम हुन्छ । इनारको पानी वितरणपूर्व पिउनयोग्य छरछैन जाँच्नुपर्छ ।
कार्यालयका ल्याब टेक्निसियन अधिकृत शंकर पौडेलले यस्तो पानी प्रयोगले हेपाटाइटिस, झाडापखाला, आउँ, टाइफाइड, हातखुट्टा लुलो हुनेजस्ता रोग लाग्न सक्ने बताए । कार्यालयका अनुसार गत वर्ष दूषित पानीका कारण लगनखेल, सुनधारा र लुखुसीमा ३६, धापाखेल र सुनाकोठीमा ६, बालकुमारी र भोलढोकामा ११, पाटनढोकामा ३ गरी २३ स्थानका ११० उपभोक्ता बिरामी परेका थिए ।
केयूकेएल जावलाखेल शाखा प्रमुख विश्वराज जोशीले यसको अनुगमन गरिने बताए । केयूकेएलका अनुसार चापागाउँ वितरण प्रणालीबाट दैनिक २५ लाख लिटर पानी पाटन आउँछ । कान्तिपुर दैनिकबाट ।