विद्युत चोरी गरी खानेपानी वितरण गर्नेलाई भारी जरिवाना

भक्तपुर २२ फागुन । विद्युत चोरी गरी खानेपानी वितरण गरेको पाइएपछि नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रले भक्तपुरका विभिन्न खानेपानी उपभोक्ता समितिलाई भारी जरिवाना तिराएको छ ।

प्राधिकरणले झौखेल कल्पकोटका पूर्णकुमार थुयालाई नियन्त्रणमा लिई १ लाख २७ हजार ३ सय रुपैयाँ असुल जरीवाना गरेको छ । थुयाले विद्युत चोरी गरी १६ घरपरिवारलाई पानी वितरण गरेको पाइएको छ ।

यस्तै चाँगुनारायण ७ झौखेलको हयोमिखा खानेपानी उपभोक्ता समूहले पनि विद्युत चोरी गरी ६५ परिवारलाई खानेपानी वितरण गरेको पाएपछि समूहलाई क्षतिपूर्ति र जरिवाना स्वरूप २ लाख ८९ हजार ५ सय ४० रुपैयाँ असुल गरिएको प्राधिकरणको भक्तपुर वितरण केन्द्रले जनाएको छ ।

यसअघि सूर्यविनायक ६, सिपाडोलको तकोपली खानेपानी उपभोक्ता समितिले पनि विद्युत चोरी गरी पानी बोरिङ गरेर ७४ घरलाई खानेपानी वितरण गरेको भेटिएको थियो । चोरीको विद्युतबाट डिप बोरिङ गरी पानी वितरण गरेको पाइएको विद्युत प्राधिकरणका वितरण केन्द्र प्रमुख विक्रम अमात्यले बताउनुभयो ।

समितिले खानेपानी सेवला प्रदान गरेबापत प्रतिघर २ हजार ५ सय रुपैयाँका दरले रकम उठाउँदै आएको पाइएको छ । प्राधिकरणले विद्युत चोरीमा प्रयोग हुने तार, डिस्ट्रिब्युटर बाकस समेत बरामद गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार