कैलाली २३ फागुन । ६७ वर्षीय धर्म सिंह कैलालीको बाँसपानीमा बस्नुहुन्छ । १९ वर्षअघि खानेपानीको अभावमा बझाङबाट कञ्चनपुरको ज्यामिरपानीमा झर्नुभयो । त्यहाँपनि पानीकै अभाव भएपछि कैलालीको चुनेपानी सरेका धर्मसिंले त्यहाँ पनि पानीकै लागि समस्या झेल्नुप¥यो ।
त्यसपछि कैलालीकै बाँसपानी आएका धर्मसिंलाई बुढेसकालमा फेरि पानी खोज्दै भौतारिनुपर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ ।
धर्मसिंको अधिकांश जीवन पानीको नामबाट राखिएको ठाउँमा वितेपनि पानीको अभाव झेल्नुपरे पछि उहाँ भाग्यलाई दोष दिनुहुन्छ । धर्मसिं भन्नुहुन्छ ‘नाम प¥यो धर्म तर अधर्मी रहेछु क्यारे जहाँ जाँदा पनि पानीकै दुःख खेप्नुप¥यो ।’ कैलालीको बाँसपानीमा अहिले पानी आउन छाडेको छ । बाँसपानीमा १७ घर परिवारको बसोबास छ ।
पहिले पहिले बाह्रैमास नसुक्ने पानीको मूल अहिले फागुनमै सुकिसकेको बाँसपानीका मिलन कठायतले बताउनुभयो । उहाँका अनुसार गाउँमा पानीकै कारण झैझगडा भएका र पानी चोरीका घटना पनि निक्कै बढेका छन् ।
१० वर्षअघि प्रति सेकेन्ड १ लिटरका दरले पानी बग्ने भाबर क्षेत्रका मूलमा अहिले दिनभरिमा पनि १ लिटर पानी बग्न छोडेको खानेपानी डिभिजन कैलालीका वरिष्ठ इन्जिनियर गणेश उपाध्यायले बताउनुभयो । उहाँका अनुसार तराईमा केही वर्ष अघिसम्म ४० फिटमा भेटिने पानी अहिले ८० फिट गहिराइमा पनि भेटिन छाडेको छ ।