महिला नेतृत्वमा दुई करोड लागतको खानेपानी आयोजना अन्तिम चरणमा

म्याग्दी ६ चैत्र । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने नागी गाउँका महिलाको अगुवाईमा सञ्चालित राम्चे खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । गाउँका महिलाले गाउँमा नै महिला समूह गठन गरी साझा विकास अवधारणा अनुसार दुई करोड रुपैयाँको लगानीमा खानेपानी आयोजना सन्चालन गरेको हो ।

जिल्ला खानेपानी तथा सवडिभिजन कार्यालय, म्याग्दीको पहलमा दुई करोड लगानीको राम्चे खानेपानी तथा सरसफाइ आयोजना राम्चेका महिलाकै नेतृत्वमा सम्पन्न हुन लागेकोे जिल्ला खानेपानी तथा सवडिभिजन कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले बताउनुभयो ।

उहाँका अनुसार खानेपानी आयोजना सम्पन्न भएपछि नागीका ३ सय ३७ जना उपभोक्ता लाभन्वित हुनेछन् । गत जेठ १ गतेदेखि निर्माण सुरु भएको राम्चे खानेपानी आयोजना क्रमागत योजना भएकाले आगामी आर्थिक बर्षमा सम्पन्न हुने जिल्ला खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।

यसबर्ष रातोझाप्रा खोलाको मुहानबाट गाउँसम्म पानी ल्याउने र आगामी वर्ष १० वटा धारा निर्माण गरी पानी वितरण गरिने योजना रहेको अध्यक्ष राममाया पुनले जानकारी दिनुभयो ।

११ जना महिला मात्र रहेको उपभोक्ता समिति गठन गरी खानेपानी आयोजना सञ्चालन हुन थालेपछि जिल्लाका अरु ठाउँमा पनि महिलाकै नेतृत्वमा उपभोक्ता समिति बन्ने क्रम सुरु भएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार