अछाम १४ चैत्र । अछाम षोडशादेबि ९ की मानमती कडायतले महिनावारीको समयमा बस्न बनाएको छाउगोठ गत कार्तिकमै भत्काउनुभयो । गाउँलाई छाउपडीमुक्त घोषणा गर्ने अभियानमा अरुको पनि भत्काएपछि उहाँको पनि भत्काउनुपर्ने भयो र श्रीमान्ले नमान्दा नमान्दै भत्काउनुभयो । उहाँको श्रीमान् मैठा धामी भएकाले घर नजिकै जाँदा पनि देवता रिसाउँछन् भन्दै महिनावारीको समयमा घरको सँघार टेक्नै दिनुहुन्न । सासु ससुरा पुरातन सोचमा विश्वास गर्ने भएकाले उहाँलाई घरमा छिर्न दिने कुरै भएन ।

छाउपडी गोठ भत्काएपछि मानमती कडायत जस्ता धेरै महिला अहिले कपडाको पाल जस्तै बनाएर घरबाहिर बस्न बाध्य छन् । मानमती गुनासो गर्नुहुन्छ ‘घरमा सासु ससुरा र श्रीमान्ले पस्न दिनुहुन्न, छाउ भएको बेला पाल टाँगेर बाहिर बस्नु पर्ने बाध्यता छ, पहिले छाउगोठ हुँदा बरु सजिलो थियो अहिले त एकदमै समस्या भएको छ, गोठमा जस्तो तातो पनि हुदैन । सुत्न पनि एकदमै गाह्रो छ ।’
विभिन्न संघसंस्थाको पहलमा साबिकको षोडशादेबी – ८ छाउपडी गोठमुक्त घोषणा भएको छ । तर छाउपडी गोठ नभएपनि महिनावारी भएको बेला घरभन्दा अलग्गै पाल टाँगेर बस्ने महिलाहरुको कमी छैन । समस्या भएपछि उपाय आउने र त्यसलाई अरुले पनि सिको गर्ने हुँदा अहिले पाल टाँगेर बस्ने महिला पनि बढ्दै गएको षोडशादेवीकी चन्द्रा खड्काले बताउनुभयो ।
४ बर्षको छोरालाइ लगेर पुस माघको चिसोमा पनि खेतको आलीमा बसेको कष्टकर दिनहरु सम्झिदै उहाँले भन्नुभयो ‘अब त बर्षा सुरु भयो छाउपडी गोठ भएपनि अलि सजिलो त हुन्थ्यो, छाउपडी गोठ भत्काउने अभियानले आफू जस्ता धेरै महिला पीडित भएको उहाँले बताउनुभयो ।

अभियान राम्रो भएपनि ती संघसस्थाले स्थानीयबासिन्दालाई सचेत नगराई धमाधम छाउगोठ भत्काउँदा यस्तो समस्या आएको स्वास्थ्यकर्मी जनक साउदले बताउनुभयो । अझैपनि परम्पराबादी सोच बोकेकाहरुलाई छाउपडी प्रथाको बारेमा पर्याप्त जानकारी गराउन नसकेर यस्तो समस्या आएको उहाँले बताउनुभयो ।
महिनावारी हुँदा ७ दिनसम्म घर भन्दा अलग बस्नुपर्ने, कसैलाइ छुन नहुने र छाउपडी हिडेको बाटो समेत हिड्न नमिल्ने भन्दै महिला माथि दुव्र्यवहार हुने गरेको कबिता खड्काले बताउनुभयो । छाउगोठ भत्काएपछि अहिले पनि १ घण्टा टाढाको गाउँमा रहेको छाउपडी गोठमा जाने गरेको उहाँले सुनाउनुभयो ।
महिला तथा बालबालीका कार्यालय अछामका अनुसार साबिकको ३१ गाबिस छाउपडीगोठ मुक्त भइसकेका छन् । अछाममा छाउपडी गोठमा बसेकै कारण ९ महिलाको ज्यान गइसकेको छ ।
नयाँ संरचना अनुसार अछाममा ४ नगरपालिका र ६ वटा गाउँपालिका छन् । छाउपडी प्रथा अन्त्यका लागि सेबक नेपाल, जलस्रोत ब्यवस्थापन कार्यक्रम, महिला तथा बालबालिका कार्यालय, वल्र्ड भिजन लगायतका संघसस्था क्रियाशील छन् ।


1218 पटक हेरिएको 

