गाउँमा पहिलो पटक धारा बन्दा खुसीयाली

हुम्ला १५ चैत्र । बर्षौपछि घर आँगनमै पानीको धारा बनेपछि हुम्लाको मदना, सिरुपाटाका बासिन्दाले खुसीयाली मनाएका छन् । पानीको अभावमा हिउँदमा नदी किनारको पैमा भन्ने ठाउँमा बस्दै आएका सिरुपाटाका बासिन्दाले अब गाउँ छोड्नु नपर्ने भएपछि खुसीयाली मनाएका हुन् । उनीहरुले गाउँमा पहिलो पटक पानीको धाराबाट पानी थापेर पिउन पाएपछि नाचगान गरेका छन् ।

गत वर्ष गाउँले सबै मिलेर एउटा खसी र चामल दिएपछि छिमेकी पदालले सिरुपाटाका बासिन्दालाई पानीको मुहान दिन राजी भएका थिए । अहिले गाउँका महिला, बालबालिका, वृद्धबृद्धा सबै पानी पाएर दंग छन् ।

सिरुपाटाका ७१ घर परिवारका लागि खानेपानीको भरपर्दो स्रोत भनेको जुकेमुलको कुवा मात्र थियो । जहाँ पानी भर्न घण्टौं लाइनमा बस्नु पथ्र्यो । ओसारेको पानी गाग्री, घैंटो, चिन्डो जस्ता भाँडामा जम्मा गरेर खान बाध्य थिए । जसोतसो पिउनका लागि जोहो गरेपनि नुहाउने भनेको निकै परको कुरा थियो । फोहोर पानीकै कारण २०६५ सालमा मदान गाउँमा झाडापखालाले निक्कैको ज्यान लिएको थियो ।

अहिले त बालबालिका, बृद्धबृद्धा सबै जना दिन दिनै नुहाउँछन् । स्वच्छ खानेपानी उपभोग गर्न सजिलो भएको छ । ‘पानी जम्मा गर्ने कुनै पनि भाँडा आवश्यक पर्दैन, भनेकै बेला थाप्न पाएपछि भरेर राख्न पनि छाडेका छौं’ स्थानीय बल थापाले भन्नुभयो ।

ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोग र ग्रामीण जनउत्थान विकास कार्यक्रमको सहकार्यमा २०७२ जेठबाट निर्माण शुरु भएको खानेपानी परियोजना यही चैत्र पहिलो हप्ता सम्पन्न भएको हो । ५३ लाख लागतमा सम्पन्न भएको खानेपानी परियोजनामा गाउँलेले १० लाख रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।

गाउँ भरिका लागि १३ वटा धारा बनाएका छन् । हरेक धाराबाट कम्तीमा ६ र बढीमा ९ घरले खानेपानी उपभोग गर्न मिल्ने गरी धारा बनाइएको छ । खानेपानी ल्याउन, लुगाधुन जान खर्च हुने समय अरु आयआर्जनको काममा लगाइने उपभोक्ता समितिका अध्यक्ष अम्मरे कार्कीले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार