पानी तान्ने मोटर विग्रिएपछि खानेपानीको हाहाकार

चौरजहारी १६ चैत्र । चौरजहारी नगरपालिका ११ स्थित जोगिनेटा सौर्य खानेपानी योजनाको पानी तान्ने मोटर बिग्रिएपछि पानीको अभाव भएको छ । सोलार प्रविधिबाट तानिएको पानी जोगिनेटाका ६५ घर र आधारभूत विद्यालय जोगिनेटाले उपभोग गर्दै आएका छन् ।

गाउँभन्दा १ हजार ८० मिटर तल जोगिनेटा खोलाबाट सोलार प्रविधि मार्फत खानेपानी तान्न प्रयोग हुने दुईमध्ये एउटा मोटर बिग्रेपछि खानेपानीको समस्या सुरु भएको हो । दुई वटा मध्ये एउटा २ मोटर विग्रेपछि एउटा मोटरले मात्र तानेको पानीले आपूर्ति धान्न समस्या भएको जोगिनेटा सौर्य खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर केसीले बताउनुभयो ।

पानी पर्याप्त नआएपछि पिउने पानीका लागि लाइन लाग्नुपर्ने अवस्था आएको स्थानीय बासिन्दा बताउँछन् । बस्तुभाउलाई खुवाउन तथा चर्पीको सरसफाइ गर्न पनि समस्या भएको छ । मोटरले पानी तान्न छाडेको लामो समय भइसक्दा पनि मर्मतको पहल हुन सकेको छैन । उपभोक्ता समितिले भने आर्थिक अभावले मर्मतको काम गर्न नसकेको बताएको छ ।

अध्यक्ष केसीका अनुसार उपभोक्ता समितिमा पर्याप्त आर्थिक स्रोत नहुँदा बिग्रिएको मोटर मर्मत गर्न नसकिएको हो । समितिका अनुसार पानी तान्न प्रयोग हुने मोटर नेदरल्यान्डबाट मगाउनुपर्ने र ३ लाख मूल्य पर्ने भएकाले समितिले किन्न असम्भव भएको हो ।

जोगिनेटा सौर्य खानेपानी योजनामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले १५ लाख र प्राविधिक सहयोग उपलब्ध गराएको थियो । स्थानीयबासीले १३ लाख नगद र बाँकी श्रमदान गरी २०६९ सालमा ४२ लाखको लागतमा योजना सम्पन्न भएको थियो । चार बर्षको बीचमा खासै ठूलो समस्या नआएको योजनामा यसपटक मोटर विग्रिएपछि खानेपानीका उपभोक्ता समस्यामा परेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार