गुणस्तर विभागकै पानी गुणस्तरहीन

काठमाडौ १२ वैशाख । नेपाल गुणस्तर तथा नापतौल विभागभित्रै प्रयोग गरिने पानी गुणस्तरहीन भेटिएको छ । सामानको गुणस्तर नाप्नका लागि प्रयोग गरिने प्रयोगशालामा प्रयोग गर्ने पानी गुणस्तरहीन भएको विभागका निर्देशक दीपक ज्ञवालीले बताउनुभयो ।

प्रयोगशालाभित्र प्रयोग गरिने पानीमा एमोनिया, आइरन लगायत पदार्थ मिसिँदा काम गर्न समस्या आएको निर्देशक ज्ञवालीले बताउनुभयो । ‘पानीमा विभिन्न किसिमका पदार्थ मिसिँदा काम गर्न ढिला हुनुका साथै मेसिनको काम गर्ने क्षमता पनि घटेको छ’ उहाँले भन्नुभयो ।

विभागमा अहिले रसायन, खाद्य, सूक्ष्म जीव परीक्षण, कपडा र भौतिक गरी पाँच प्रयोगशाला सञ्चालनमा छन् । तीमध्ये रसायन र खाद्य प्रयोगशालामा प्रयोग गरिने पानी अति शुद्ध हुनुपर्ने भएपनि पानी गुणस्तरहीन भएको ज्ञवालीले बताउनुभयो । छ महिनामा कार्टिज बिग्रने र कार्टिज फेर्नसमेत गरी दुई लाख रुपैयाँ भन्दा बढी लाग्ने गरेको ज्ञवालीले बताउनुभयो ।

विभागमा रहेका पाँच प्रयोगशालामध्ये रसायन प्रयोगशालाले वार्षिक एक हजार, खाद्य प्रयोगशालाले वार्षिक पाँच सय, खाद्य, सूक्ष्म जीव परीक्षण प्रयोगशालाले वार्षिक एक सय, टेक्स्टाइल प्रयोगशालाले वार्षिक दुई हजार, भौतिक प्रयोगशालाले वार्षिक एक हजार सामानको नमुना परीक्षण गर्दै आएको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार नेपालको नापतौल मान्यता अन्तर्रास्ट्रियस्तरको भए पनि यसको सही प्रयोग गर्न नसक्दा समस्या भईरहेको छ । बोरिङको पानी गुणस्तर नहुँदा यन्त्र बिग्रने र पाइप लाइनमा जाम हुने जस्ता समस्या आएको महानिर्देशक पुडासैनीले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार