सिन्धुपाल्चोक १४ वैशाख । तपाई हामी मध्ये धेरैले मेलम्चीको नाम सुनेका छौं, तर मेलम्ची नदीको पानी कहाँबाट डाइभर्सन गरेर काठमाडौमा ल्याइदैछ भन्ने कुरा कमैलाई मात्र थाहा हुन सक्छ ।
थाहा भएकाहरुले पनि मुख्य स्थल नदेखेको हुन सक्छ । त्यसैले हामी देखाउँदैछौं मेलम्चीको पानी काठमाडौ ल्याउन डाइभर्सन गरिने मुख्य ठाउँ । हेर्नुहोस् यो भिडियो :
मेलम्ची नदीको पानीलाई अम्बाथानबाट डाइभर्सन गरी मुख्य सुरुङमा हालेपछि प्रति सेकेण्ड २ हजार लिटर अर्थात दिनको १७ करोड लिटर पानी काठमाडौको सुन्दरीजलमा आउनेछ । यसका लागि अहिले अम्बाथानमा पहाडको चट्टान काट्ने काम भइरहेको छ ।
पहाड काटिसकेपछि त्यहाँ बाँध बाँधिनेछ र पानीलाई डाइभर्सन टनेलमा हालिनेछ । डाइभर्सन टनेलको निर्माण सम्पन्न भइसकेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दवाडीले जानकारी दिनुभयो ।
डाइभर्सन टनेलबाट झण्डै ७० मिटर लामो १ दशमलव ६ डाइमिटरको डीआई पाइप मार्फत पानीलाई जेरो चेनेजसम्म लगिनेछ र त्यहाँको मुख्य टनेलमा पानी प्रवेश गराएपछि सुन्दरीजलमा बनाएको पानी प्रशोधन केन्द्रमा खस्नेछ ।
त्यहाँ पानी प्रशोधन गरेपछि थोक वितरण प्रणाली मार्फत रिजभ्र्वायर ट्याङ्क र त्यहाँबाट वितरण सञ्जाल हुदै उपभोक्ताको घरघरमा पानी पुग्नेछ ।