उदयपुरगढीमा पाहुनालाई दिने खानेपानीको समेत अभाव

उदयपुर १८ वैशाख । पानी नहुँदा पर्यटक सुविधाका लागि पुरानो सदरमुकाम उदयपुरगढीमा सञ्चालित होमस्टे प्रभावित बनेका छन् । पानीकै कारण होमस्टेमा आउने पाहुनाको बसाइ लम्ब्याउन नसक्दा प्रभावित भएको हो । झन्डै ३ वर्षदेखि सञ्चालित होमस्टेमा आउने पाहुनाका लागि आवश्यक पानी अभाव छ । पुरानो सदरमुकाम उदयपुरगढी आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि स्थानीय महिलाले होमस्टे चलाएका हुन् । यहाँका ६ परिवार पछिल्लो समय यसैमा लागेका छन् ।

पानीको भरपर्दो व्यवस्था नहुँदा पाहुनाको बसाइ व्यवस्थित र लामो बनाउन नसकिएको होमस्टे सञ्चालक बताउँछन् । उदयपुरगढीमा वर्षांैदेखि पिउने पानी समस्या छ । करिब ३० किलोमिटर टाढाको मुहानबाट ल्याएको पानीले स्थानीयलाई पुग्दैन । पाइप लाइनबाट ल्याएको पानी पिउनमात्रै पनि नपुग्ने स्थानीय बताउँछन् ।

गाडीमा पानी ओसारेर जीविका चलाउँदै 

‘पानीको वैकल्पिक व्यवस्था गरिएको छैन,’ होमस्टे सञ्चालक गीता धमला भन्छिन्, ‘गाडीमा बोकेको पानीले कसरी पुर्‍याउनु ?’ पानी नहुँदा पाहुना एक रात पनि राम्रोसँग बस्न सक्ने अवस्था नरहेको उनले बताइन् । ‘पानीको उचित व्यवस्था पेसा नै संकटमा परेको छ,’ पञ्चावती सामुदायिक होमस्टे समिति अध्यक्ष इन्द्रकुमारी राईले भनिन्, ‘पिउने पानी नै दिन सक्ने अवस्था छैन, नुहाउन र लुगा धुनु त टाढाको कुरा भएको छ ।’ होमस्टे सञ्चालन अन्य पूर्वाधार भए पनि पानी नहुँदा ठूलो समस्या भोग्नुपरेको उनले बताइन् ।

जिल्ला समन्वय समिति र उदयपुरगढी गाउँपालिकाले होमस्टे सञ्चालनमा सहयोग गरेको समिति सचिव रिताकुमारी धमालको भनाइ छ । ‘जिविसले अन्य क्षेत्रमा सञ्चालित होमस्टेको अवलोकन भम्रण गरायो,’ उनले भनिन्, ‘यहाँको हेर्दा त्योभन्दा राम्रो गर्न सकिन्छ जस्तो लाग्यो ।’ तर पानी, बिजुली र बाटोको स्तर उन्नति गर्न नसक्दा क्षमता अनुसार गर्न नसकेको उनी बताउँछिन् ।

‘पोखरा र बन्दीपुरका होमस्टे हेर्दा धेरै गर्न सकिन्छ जस्तो लागेको छ,’ धमलाले भनिन्, ‘नेपालटार उदयपुरगढी सडकको स्तरोन्नतिसँगै प्रशस्त मात्रमा पानी उपलब्ध नहुँदा केही गर्न सकिएको छैन ।’

सेन वंशका राजाले राज्य गरेको उदयपुरगढी ऐतिहासिक स्थल हो । स्थानीय पुष्प गुरगाईंका अनुसार सामरिक महत्त्व बोकेको ऐतिहासिक गढी भएकाले बर्सेनि मुलुकका विभिन्न भागबाट पर्यटन यहाँ आइरहन्छन् ।’ तीनै आन्तरिक र जिल्लाभित्रकै पर्यटकका लागि बास व्यवस्थित गर्न उदयपुरगढीका महिलाले होमस्टे चलाएका हुन् ।

होमस्टेमा करिब ३० पर्यटकलाई सेवा उपलब्ध हुने सञ्चालकले बताए । ‘स्थानीय स्तरमा उपलब्ध गुन्दुक, कोदोको डिढो, मकै भटमास, स्थानीय स्तरमा उत्पादित खसी र कुखुकाको मासुसहित स्थानीय जनजातिले उत्पादन गरेको मदिराले पाहुनलाई स्वागत गरिने अध्यक्ष राईले जानकारी दिई । कान्तिपुर दैनिकबाट ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार