दिक्पाल गिरी, अछाम १८ वैशाख । आकाशमा कालो बादल मडारिन साथ अछामको बतासेका बासिन्दा खुसीले फुरुङ्ग हुन्छन् । जब झम्झम् पानी पर्न थाल्छ, उनीहरु घरको छानो, पाइप तथा घैंटोको सरसफाई गर्न थाल्छन् । अहिले जम्मा गरिराख्न पाए भविश्यमा पानीको दुःख नहुने भएकाले अहिले देखि नै पानीको जोहो गर्न थालेका हुन् । बतासेका बीरबहादुर राउत भन्नुहुन्छ ‘पानी पर्ला जस्तो भयो भने हामी त देवता गुहार्न थाल्छौं, पानी पारिदेउन भन्दै दुई हात जोड्छौं ।’
बतासेको हरेक घरको पछिल्तिर एकक÷एक वटा घैटों बनाइएको छ । पानी संकलनका लागि हरेक घरले जस्तापाताको छाना छाएका छन् । बर्षातमा परेको पानीलाई जम्मा गरेर सुख्खा समयमा प्रयोग गर्न थालेपछि पानीको दुःख हटेको छ । घैंटो निर्माण हुनु अघि पानी ओसार्दामै ठीक्क हुने महिलाका दुःखका दिन सकिएका छन् ।
पानीबाट यसरी सम्भव भयो डिजेल मील
आकाशे पानी संकलन गर्न थालेपछि पानी ओसार्नुपर्ने दुःख सकिएको मात्र होइन, नयाँ नयाँ आयआर्जनको बाटो पनि खुलेको छ । बतासेका बीरबहादुर राउतले आकाशेपानी संकलन गर्न थालेपछि नै हो, डिजेल मिल सन्चालन गर्न थाल्नुभएको ।
‘मील चलाउन डिजेल भएर मात्र पुग्दैन, मील चलुञ्जेल चिसो पानी चाहिन्छ, त्यत्ति धेरै पानी टाढाबाट बोकेर सम्भव थिएन, जब हामी सँग पानी नटुट्ने वातावरण बन्यो अनि आँट गरें र मील चलाउन थालें’ बीरबहादुरले भन्नुभयो । गाउँमै मील चलेपछि गाउँलेले पनि सेवा पाएका छन् भने राउतको नियमित आम्दानीको स्रोत पनि भएको छ । बीरबहादुरले मीलमा प्रयोग भएको पानी तरकारी खेती सिंचाईका लागि प्रयोग गर्दै आउनुभएको छ ।
घैटौं जतन गर्ने विधी
बीरबहादुर लगायत गाउँलेले आकाशे पानी संकलन गर्न थालेको पाँचौ बर्षमा टेक्दैछ । तर घैंटोलाई जतन गर्ने भएकाले अझै पनि उस्तै छ । उनीहरुले घैंटाकोे अति हिफाजत गर्ने गरेका छन् । यसको दीगो प्रयोगका लागि टुटेफुटेमा मर्मत गर्न मर्मत सम्भार कोषको व्यवस्था मिलाएको छ भने चर्को घामले फुट्ने सम्भावना भएकाले केही पानी घैटोमै राख्ने गरेका छन् ।
पहाडको थुम्कीमा कष्टकर जिन्दगी विताईरहेका धेरेको जीवन, आकाशेपानी संकलनले बदलिएको छ । घण्टौं हिडेर पानी ओसार्नुपर्ने दुःखको अन्त्य भएको मात्र होइन यसबाट नयाँ नयाँ आयआर्जनको बाटो पनि खुलेको छ । यो प्रविधिमा अहिलेसम्म विभिन्न गैरसरकारी संस्थाले मात्र लगानी गरिरहेकाले सरकारले पनि लगानी गर्न आवश्यक रहेको गाउँलेहरु बताउँछन् ।
शुरुमा गुल्मी, अर्घाखाँची र सुर्खेततिर आकाशेपानी संकलन गर्ने प्रविधि देखेका बतासेका बासिन्दाले आफ्नो गाउँमा पनि यस्तै भए हुन्थ्यो भन्ने चिताएका बतासेबासीको इच्छा हेल्भेटास, जलस्रोत व्यवस्थापन कार्यक्रमले पूरा गरिदिएको हो ।