म्याग्दीमा तीनवटा खानेपानी आयोजना एकैसाथ सञ्चालन

म्याग्दी २३ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घार, मङ्गला– २ तल्लो हिदी र मालिका– ४ ओखरबोटमा निर्मित खानेपानी आयोजना एकैसाथ सञ्चालनमा आएका छन् । घारमा बिरौटाखोलाबाट, तल्लो हिदीमा पात्लेपानीबाट र ओखरबोटमा खालखोलाबाट खानेपानी ल्याएको हो ।

जिल्ला समन्वय समिति अन्तर्गत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना मार्फत निर्माण भएको आयोजनाबाट एक सय भन्दा बढी घरपरिवार लाभान्वित भएका छन् ।

एक करोड १६ लाख ७५ हजार १ सय ४५ रुपैयाँको लागतमा निर्माण भएको तीनवटा आयोजनाबाट एक सय १९ घरका सात सय ७३ जना लाभान्वित भएका परियोजनाका सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

उपभोक्ताले कुल लागतको ३५ प्रतिशत श्रमदान गरेका छन् । सार्वजनिक धारा र असुरक्षित मुहानको खानेपानी उपभोग गर्दै आएका उनीहरुले घरैमा धारा जडान गरेका छन् । घरघरै धारा भएपछि पानी ओसार्न लाग्ने समयको बचतसँगै दैनिकी सहज भएको बिरौटा खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष ठाकुर बरुवालले बताउनुभयो ।

म्याग्दीमा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना मार्फत थप चारवटा खानेपानी आयोजना निर्माणाधीन छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार