दिक्पाल गिरी, काठमाडौ २५ वैशाख । दुई दशकपछि हुन लागेको स्थानीय तहको चुनावका लागि दलहरुले धमाधम घोषणापत्र सार्वजनिक गर्न थालेका छन् । स्थानीय तहको चुनाव भएकाले बढीजसो स्थानीय तहको सडक, शिक्षा, जलविद्युत विकासका मुद्दाहरुका साथ सधैं ओझेलमा पर्दै आएको खानेपानी तथा सरसफाइको विषयलाई समेत प्राथमिकतामा राखेर घोषणापत्रमा समेटिएको छ ।
काँग्रेसको नारा : एक विपन्न परिवार पानीको एक निशुल्क धारा
संसदको सबैभन्दा ठूलो दल नेपाली काँगे्रसले स्थानीय तहका महत्पूर्ण नदीनाला, तालतलैयालाई प्रदुषणमुक्त गर्न अभियानको रुपमा प्रभावकारी कार्यक्रम सन्चालन गर्ने, प्लाष्टिक झोला प्रयोगलाई कडाइका साथ नियन्त्रण गर्नुका साथै वातावरणमैत्री झोला निर्माण कार्यलाई प्रोत्साहन गरिने उल्लेख छ ।
यस्तै प्रत्येक घरमा शौचालय निर्माण र सरसफाइको सामाजिक अभियान चलाइने, विपन्न बर्गका परिवारलाई शौचालय निर्माण गर्न थप अनुदान दिइने र एक विपन्न परिवार पानीको एक निशुल्क धारा कार्यक्रम पाँच बर्षका लागि ल्याइने घोषाणापत्रमा उल्लेख छ ।
एमालेले देशलाई खुलादिसामु्क्त गर्ने
नेकपा एमालेले व्यवस्थित सहरीकरण, खानेपानी, विद्युत र अन्य सुविधाको सहज आपूर्ति, फोहोरमैला व्यवस्थापन र हरियाली विकासको विशेष कार्यक्रम मार्फत राजधानी र अन्य सहरलाई स्वच्छ, सुन्दर र रमणीय बनाउने जनाएको छ ।
एमालेले खानेपानी र सरसफाइ सम्बन्धी निर्दिष्ट खाका प्रस्तुत नगरेपनि सम्पूर्ण नागरिकमा स्वच्छ पिउने पानीको पहुँच स्थापित गरिने र सिङ्गो देशलाई खुला दिसामुक्त गरिने उल्लेख छ ।
माओवादी केन्द्रले खानेपानीको व्यवस्था र फोहोरमैलाको उचित व्यवस्थापन गर्ने
माओवादी केन्द्रले पनि खानेपानी र फोहोरमैला सम्बन्धी खासै ठोस कार्यक्रम नल्याएपनि खानेपानीको व्यवस्था र फोहोरमैला व्यवस्थापन गर्ने जनाएको छ । केन्द्रको प्रतिबद्धता पत्रमा सहरी बिकासको कार्यक्रम अन्तर्गत सहरी क्षेत्रमा सर्वसुलभ खानेपानीको व्यवस्था, फोहरमैला व्यवस्थापन, वायु प्रदूषण नियन्त्रण, ट्राफिक व्यवस्थापन, अव्यवस्थित वसोवास हटाउने, सुकुम्वासीहरूको वसोवासको व्यवस्था गरिने जनाइएको छ ।
सहरको लागि अत्यावश्यक पर्ने मूल क्षेत्रहरूको निर्धारण गर्ने र ती क्षेत्रहरूवीच जोड्ने द्रुतमार्गहरू–सडक, मेट्रो लाइन, खानेपानी आपूर्तिको व्यवस्था, विद्युत आपूर्तिको व्यवस्था, शहरको बीचमा खाली जमिन राख्ने र ती खाली जमिनमा हरियाली पार्कहरू बनाउने आदिको दीर्घकालीन वृहत्तर सहरी विकास गुरुयोजना बनाउने माओवादीको योजना छ ।
नयाँ शक्तिको आगामी ५० बर्षलाई पुग्ने पानी प्रशोधन तथा वितरण केन्द्र बनाउने
नयाँ शक्ति पार्टीले आफ्नो घोषणापत्रमा खानेपानी तथा उर्जालाई विशेष महत्व दिएको छ । गाउँपालिकाका क्षेत्रभित्रका खोलानाला, तालतलाउ जस्ता खानेपानीका स्रोतहरु संरक्षण र आवश्यक साइजका ट्याङ्की बनाइ प्रत्येक घरमा पाँच बर्षभित्र शुद्ध पिउने पानी पु-याइने, आगामी ५० बर्षका लागि पुग्ने गरी नगरपालिकामा आवश्यक पानी प्रशोधन तथा वितरण केन्द्रहरु बनाइने घरमा बायोग्याँस राख्न चाहनेलाई ९० प्रतिशत अनुदान दिइने र आवश्यक स्थानमा ओभरहेड ट्याङ्कीहरु बनाइ खानेपानी पाइप सन्जाल मार्फत घरघरमा प्रशोधित पिउने पानी पु-याइने उल्लेख छ ।