काठमाडौ उपत्यका खानेपानी लिमिटेडले मतदान स्थलमै खानेपानी उपलब्ध गराउने

काठमाडौ २८ वैशाख । काठमाडौ उपत्यका खानेपानी लिमिटेड केयूकेएलले चुनाव हुने दिन काठमाडौ र ललितपुरको विभिन्न मतदान केन्द्रमा निशुल्क खानेपानी वितरण गर्ने भएको छ ।

खानेपानी वितरणका लागि निर्वाचन आयोगसँग मतदान केन्द्रको एकीन गर्ने र अनुमति लिने प्रक्रियामा रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

‘खानेपानी दिदा पनि निर्वाचन आचारसंहिता लाग्छ भन्ने हुन्छ, तर मतदातालाई खानेपानी दिन पवित्र उद्देश्य भएकाले मलाई लाग्छ निर्वाचन आयोगले सहयोग गर्नेछ’ सचिव उपाध्यायले भन्नुभयो ।

उहाँका अनुसार चुनाव हुने दिन मतदाताले बोतलको पानी किन्न नपरोस् भन्ने उद्देश्यले स्वच्छ खानेपानी निशुल्क वितरण गर्न लागेको हो । यसका साथै खानेपानी विक्री वितरण गर्ने ट्याङ्करले अनिवार्य स्टिकर लिनुपर्ने प्रावधानका विषयमा समेत उपभोक्ताले जानकारी हासिल गर्ने उहाँले बताउनुभयो ।

खानेपानी वितरणका लागि केयूकेएलको ठूलो तथा सानो क्षमताका ट्याङ्कर परिचालन गर्नेछ । शहरको भित्री मतदान केन्द्रमा ६ हजार लिटरको ट्याङकर र बाहिर १२ हजार लिटरको ट्यांङकरले घुम्ती सेवा दिने केयूकेएलले जनाएको छ ।

धुलिखेलमा जारको पानी वितरण गरिने

भोट हाल्ने दिन काभ्रेको धुलिखेल नगरपालिकामा पनि निशुल्क खानेपानी वितरण गरिनेछ ।यसका लागि खानेपानी संस्थानलाई जारको पानी वितरण गर्न निर्देशन दिइसकेको खानेपानी तथा सरसफाइ सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिनुभयो । संस्थानले केही दिन अघि देखि आफैले जारको पानी उत्पादन गर्न थालेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार