नुवाकोटको एउटै गाउँमा एकैसाथ दुईवटा खानेपानी आयोजना शुरु

नुवाकोट २९ वैशाख । नुवाकोटको मेघाङ गाउँपालिकाको किम्ताङमा दुईवटा खानेपानी आयोजना एकै साथ निर्माण भइरहेको छ । झण्डै साढे २८ लाखको कुरुम्जोङ खानेपानी आयोजना र साढे ३६ लाखको लागतमा अर्ताङ्उ खानेपानी आयोजना निर्माण भइरहेको हो ।

एसिएफ र डिएफआइडीको आर्थिक तथा एकीकृत ताडी विकास समाज केन्द्रको प्राविधिक सहयोगमा निर्माण भइरहेको खानेपानी आयोजना सम्पन्न भएपछि दुवै आयोजनाबाट गरी झण्डै तीन सय घर लाभन्वित हुनेछन् ।

‘मुख्य पाइप लाइन र शाखा पाइन लाइन विछ्याउने काम सकिएको छ, खानेपानी आयोजना सम्पन्न भएपछि नेबीस्योङ, गोम्बुगङ, कुनागाउँ, बसपार्क, चेतगुङ, मेखोर, लगायत बस्तीका १ सय ५३ परिवारले स्वच्छ खानेपानी उपभोग गर्न पाउनेछन्’ कुरुम्जोङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष मूल बहादुर तामाङले भन्नुभयो ।

उहाँका अनुसार झण्डै १८ सय मिटर मूख्य पाइप र झण्डै ८ हजार ८ सय मिटर शाखा पाइप लाइन विछ्याइने काम सकिएको हो ।

एकीकृत ताडी विकास समाज नेपालका साइट इन्जिनियर ऋषिराम लामिछानेका अनुसार कुरुम्जोङ खानेपानी आयोजनामा ठूला क्षमताका तीन वटा रिजभ्र्वायर ट्याङ्क बनाइनेछ । ‘१ सय ५३ घरधुरीका लागि पुग्ने पानीको आवश्यकता धान्न हामीले १६ हजार, ५ हजार ४ हजार लिटरका रिजभ्र्वायर ट्याङ्क बनाउदैछौं’ लामिछानेले भन्नुभयो ।

अर्ताङ्उ खानेपानी आयोजनाबाट १४२ घरधुरी लाभन्वित हुने

अर्ताङ्उ खानेपानी आयोजना सम्पन्न भएपछि मेघाङ गाउँपालिका ४ को कलङ्ची, मेङगाङ् नाम्सेक्र, बलाङगङ लगायत १४२ घर लाभन्वित हुनेछन् ।

कुल ३६ लाख, ४९ हजार १ सय ३ रुपैयाँ लागत मध्ये उपभोक्ताले १६ प्रतिशत श्रमदान गर्नुपर्ने अर्ताङ्उ खानेपानी उपभोक्ता समितिकी सदस्य फूलमाया तामाङले बताउनुभयो ।

आयोजनाका लागि आवश्यकीय पाइप, सिमेन्ट, सकेट लगायत वाह्य सामग्रीहरु एसिएफ र डिएफआइडीको आर्थिक सहयोगमा एकीकृत ताडी विकास समाज नेपालले वितरण गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार