मह जोडीको चर्पी सम्बन्धी चेतनामूलक भिडियो सार्वजनिक

काठमाडौ ३० वैशाख । सामाजिक विषयवस्तुमा आधारित टेलिश्रृङ्खला, सचेतनामूलक सन्देश अडियो तथा भिडियो मार्फत सार्वजनिक गर्दै आएका मह जोडी अर्थात कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले चर्पीको प्रयोग, चर्पी नहुँदा पर्ने सामाजिक असर लगायत विषयवस्तुमा आधारित भिडियो सार्वजनिक गर्नुभएको छ ।

नेपालमा चलिरहेको सरसफाइ अभियानलाई अझ सशक्त बनाउन राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले सचेतनामूलक भिडियो निर्माण गरेको हो ।

हेर्नुहोस् यो भिडियो :

सरसफाइ प्रर्बद्वनलाई सघाउ पुग्ने यस्ता फरक फरक भिडियो निर्माण गरिएको छ । चर्पी नहुँदा आफ्नो प्रतिष्ठामा आँच आउने र चर्पी नभएको घरमा बुहारी समेत आउन नमान्ने विषयलाई कथावस्तु बनाएको छ । यसमा कलाकारहरु मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथमा रघु त्रिपाठी र प्रिती झाले पनि अभिनय गर्नुभएको छ ।

यस्तै अर्को भिडियोमा खुला मैदानमा नभई अब चर्पीमा दिसा गर्नुपर्ने विषयलाई जोडदार ढंगबाट उठाइएको छ । तराइमा चर्पी बनाएर पनि खुला ठाउँमै दिसा गर्ने बानीलाई व्यंग्यात्मक तरिकाले प्रस्तुत गर्दै चर्पीमा मात्र दिसा गर्नुपर्ने कुरालाई जोड दिइएको छ ।

यस्तै केटाकेटीले आफ्नो खुत्रुक्केमा वचत गरेको रकम समेत निकालेर चर्पी बनाउने खोजेको तर प्यानसेट किन्ने पैसा नपुगेको विषयबस्तुलाई मार्मिक ढंगबाट प्रस्तुत गरिएको अर्को भिडियो पनि सार्वजनिक गरिएको छ ।

चर्पी नामक टेलिश्रृङ्खला प्रसारण हुने

कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यकै निर्देशनमा चर्पी नामक टेलिश्रृङ्खला पनि प्रसारण गर्ने भएको छ । यसको छायाँकन तथा सम्पादनको काम समेत शुरु भइसकेको र प्रसारणमा आउन दुई चार महिना लाग्ने कलाकार रघु त्रिपाठीले जानकारी दिनुभयो ।

‘नेपालमा झण्डै ९० प्रतिशत घरमा चर्पी बनिसकेको तर झण्डै ६५ प्रतिशतले मात्र चर्पी प्रयोग गरिरहेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ, यसकारण चर्पी नबनाउनेलाई बनाउन प्रेरित गर्ने र बनाएर पनि प्रयोग नगर्नेलाई प्रयोग गर्न अभिप्रेरित गर्ने टेलिश्रृङ्खलाको मुख्य उद्देश्य रहनेछ’ कलाकार त्रिपाठीले भन्नुभयो । चर्पी टेलिश्रृङ्खला नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार