लिखिता बराल, काठमाडौ ३१ वैशाख । नेपाली काँग्रेसले काठमाडौको महाराजगन्ज स्थित वडा नं. ३ को वडा भवन मतदान केन्द्रमा खानेपानी वितरण गरिरहेको छ । काँग्रेसले जार, बोतल र जगबाट मतदाताले पिए जत्ति पानी वितरण गरिरहेको हो ।
मतदान सम्पन्न नभएसम्म कसैले खानेकुरा, भोजभत्तेर वा मतदाता लोभ्याउने खालको काम गर्न नहुने निर्वाचन आचारसंहितामा उल्लेख भएपनि काँगे्रसले मतदान स्थलमै खानेपानी वितरण गरेको हो । काँग्रेसले भने वितेका बर्षहरुमा पनि तिर्खाएका मतदातालाई ध्यानमा राखी पानी वितरण गरेको तर कुनै प्रलोभनमा पार्ने आफूहरुको नियत नभएको बताएको छ ।
चर्को घाममा खानेपानी उपलब्ध गराउनु पूण्य काम भएपनि यसले मतदाताको मनोविज्ञान बदल्न सक्ने मतदान केन्द्रमा भेटिएका सुरज शाक्यले बताउनुभयो ।
‘यस्तो काम गर्नुहुने थिएन, अब तिर्खाएका मानिसले पानी पिउन पाएपछि कसैले केही पनि भनेका छैनन्, यो काम मतदान अधिकृत लगायत सुरक्षाकर्मीले नै नियन्त्रण गर्नुपथ्र्यो, मलाई पनि आचारसंहिता विपरीतको काम भए जस्तो लाग्छ’ उहाँले भन्नुभयो । अन्य मतदान केन्द्रमा भने काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल ) को ट्याङ्करले खानेपानी उपलब्ध गराइरहेको छ ।
काठमाडौ महानगरपालिकाको वडा नं. ३ महाराजगञ्ज वडा कार्यालय भवन केन्द्रमा ३ हजार ९ सय ६६ मतदाता छन् ।