दिक्पाल गिरी, नुवाकोट २ जेठ । दुई बर्ष पूरा हुँदा पनि भूकम्पले ढलेका अधिकांश घरहरु अझै बनेका छैनन् । पूँजी भएका र सरकारको मुख नताकी आफै बनाउन अग्रसर भएका केहीले बनाएपनि सरकारकै किस्ताबन्दी सहयोगले बनाउन थालेकाहरुको घर अझै पूरा हुन सकेको छैन । नयाँ घर बनाउँदा कस्तो चर्पी बनाउने त ? हामीले भेट्यौं विदुर नगरपालिका ३ नुवाकोटका सुनिल डंगोललाई ।
हेर्नुहोस् यो भिडियो :
सुनिल डंगोलको निर्माणाधीन घरमा हरेक तलामा चर्पी बनाइएको छ । अझै माथिल्लो तलामा २ वटा चर्पी बनाउने योजनामा हुनुहुन्छ, उहाँ । बूढाबूढी केटाकेटी र आफू पनि विरामी परेको बेला समस्या हुने भएकाले हरेक तलामा एउटा चर्पी बनाएको उहाँले बताउनुभयो ।
‘बूढाबूढी कहाँ चर्पी खोज्दै हिड्ने ? आफूलाई पनि विरामी परेको बेला एउटा तलाको अर्को तलामा उक्लिन वा ओर्लिन निक्कै समस्या पर्छ नि ? त्यसैले हरेक तलामा एउटा चर्पी बनाएको हुँ’ डंगोलले बताउनुभयो ।
उहाँले घर जस्तै चर्पी र सेफ्टी ट्याङ्क पनि भूकम्प प्रतिरोधी बनाउनुभएको छ । दिसापिसाब गरिरहेको बेला भूकम्प आयो भने पनि मानिस सुरक्षित रहन सकोस् भनेर चर्पी पनि बलियो बनाएको डंगोलले बताउनुभयो ।
‘पहिले पहिले एउटा घरमा एउटा चर्पी भए पुग्थ्यो, तर अहिले त कोठा खोज्न आएपनि पहिले नै चर्पी कहाँ छ भनेर सोध्छन्, चर्पी टाढा भएको घरमा न डेरावाला आएर बस्छन् न ग्राहक आउँछन् त्यसैले चर्पी त अति आवश्यक छ’ चर्पीको महत्वबारे डंगोलले थप स्पष्ट पार्नुभयो ।
पहिले पहिले बनाएको घरमा चर्पीलाई खासै ध्यान नदिएपनि नयाँ बन्न थालेका घरमा चर्पीलाई पनि महत्व दिन थालेको छ ।