सावित्री राजभण्डारी, रसुवा ३ जेठ । रसुवाको कालिका गाउँपालिका १ को सेतीभूमे माध्यमिक विद्यालयमा खानेपानी सरसफाइ र स्वच्छता सम्बन्धी विभिन्न क्रियाकलापहरु भइरहेका छन् ।
एसिएफको आर्थिक तथा लाङटाङ संरक्षण सरोकार समाज ल्याकोसको प्राविधिक सहयोगमा सेतीभूमे माध्यमिक विद्यालयमा ८ कोठे छात्रामैत्री चर्पी, चार वटा बालमैत्री धारा, फोहोर जलाउने इन्सिनेरेटर र स्वच्छता सम्बन्धी बालबालिकालाई अभिमुखीकरण गर्दै आएको ल्याकोसकी सहायक कार्यक्रम अधिकृत पूजादेवले जानकारी दिनुभयो ।
छात्रामैत्री चर्पी बनेपछि छात्रा शिक्षामा अभिबृद्धि हुने अपेक्षा
२०७२ वैशाख १२ को भूकम्पले विद्यालय भवन सहित चर्पी पनि भत्किएपछि सेतीभूमे माध्यमिक विद्यालय अस्थायी चर्पीको भरमा चल्दै आएको थियो ।
स्थायी तथा छात्रामैत्री चर्पीको अभावमा छात्रलाई भन्दा पनि छात्रालाई बढी समस्या हुने गथ्र्यो । ‘छात्रामैत्री चर्पीको अभावमा महिनावारी भएको समयमा विद्यालयमा हाजिर नै हुदैनथे अब छात्राहरु पनि नियमित स्कुलमा आउने अपेक्षा गरेको छु’ विद्यालयका प्रधानाध्यापक देवेन्द्र देवकोटाले भन्नुभयो ।
उहाँका अनुसार छात्रा नियमित नहुँदा छात्राहरुले छात्र सरह पढाइमा प्रतिस्पर्धा गर्न सकेत सक्दैनथे । विद्यालयमा महिनावारी हुँदा सेनेटरी प्याड फेर्न मिल्ने सहितको ८ कोठे चर्पी बनिरहेको शिक्षक अभिभावक संघका अध्यक्ष दावा लाक्पा तामाङले जानकारी दिनुभयो ।
बालमैत्री धाराबाट यस्तो सुधारको आशा
‘बालमैत्री धारा नहुँदा यसअघि बालबालिका धारामा झुण्डिएर पानी पिउनुपर्ने र कपडा, किताव, झोला समेत भिज्थे’ विद्यालयका प्रधानाध्यापक देवेन्द्र देवकोटा भन्नुहुन्छ ‘अब त बालबालिकाले त्यस्तो समस्या झेल्नु नपर्ला ?’
बालमैत्री धारा नहुँदा अग्लो धारामा पानी पिउनुपर्दा छातीको कपडा लुथुरुक्क भिज्ने र यसले गर्दा खोकी लाग्ने निमोनिया हुने जस्ता समस्या समेत हुने गरेको शिक्षक अभिभावक संघका अध्यक्ष दावा लाक्पा तामाङको अनुभव छ ।
‘हामीले बालमैत्री धारा अर्थात बालबालिकाकै उचाइमा आधारित भएर बनाएको धाराको आवश्यकता महसुस गरिरहेका थियौं, एसिएफले हाम्रो आवश्यकता बुझिदियो, अब हाम्रा बालबालिकाले विगतको जस्तो समस्या भोग्नु नपर्ला कि ?’ तामाङले भन्नुभयो ।
विद्यालयमा सञ्चालन भएको कार्यक्रमले सरसफाइमा सुधार
विद्यालयमा सञ्चालित स्वच्छता सम्बन्धी कार्यक्रमले विद्यार्थी, विद्यालय र समुदायमा समेत परिवर्तन ल्याएको अभिभावकहरु बताउँछन् ।
सेतीभूमे माध्यमिक विद्यालयमा सरसफाइ कार्यक्रम सञ्चालनका लागि बाल क्लव गठन गरिएको छ । ती बालक्लवका सदस्यहरुलाई एसिएफ र लाङटाङ संरक्षण सरोकार समाज ल्याकोसले सरसफाइ र स्वच्छता सम्बन्धी विविध कार्यक्रमहरु गर्दै आएको छ ।
हातधुने तरिका, चर्पीको आवश्यकता, चर्पी बनाउने तरिका, गाउँ टोल सरसफाइ गर्दा हुने फाइदा र अभिभावक तथा बालबालिका र टोलबासीले गर्न सकिने कामका विषयमा उनीहरुलाई विद्यालयमै गएर सहजीकरण गर्दा विद्यार्थी, विद्यालय र समुदायलाई नै फाइदा पुगेको एसिएफका सहायक कार्यक्रम व्यवस्थापक कपिल देवकोटाले बताउनुभयो ।
सेतीभूमे माध्यमिक विद्यालयमा ३ सय ५८ जना छात्रछात्रा अध्ययनरत छन् ।