मुसहरका बालबालिका पढ्ने स्कुलमा खानेपानी सहित बालबालिकामैत्री परियोजना शुरु

महोत्तरी ४ जेठ । मुसहर जातिका बालबालिका अध्ययन गर्ने बर्दिबासको जनता माध्यमिक विद्यालयमा खानेपानी सहित बाल तथा वातावरणमैत्री वातावरणमा अध्ययन अध्यापन गर्ने व्यवस्था मिलाउने भएको छ । धुर्मुस – सुन्तली फाउण्डेसनको प्राविधिक सहयोगमा बालमैत्री वातावरण निर्माण परियोजनाले  बालमैत्री वातावरणमा पढ्ने व्यवस्था गर्न लागेको हो ।

जनता माध्यमिक विद्यालयमा धुर्मुस – सुन्तली फाउण्डेसनद्वारा निर्मित ‘एकीकृत नमुना मुसहर बस्ती’ का मुसहर बालबालिका अध्ययन गर्छन् ।

परियोजना अन्तर्गत खानेपानीको धारा निर्माण, बालबालिका खेल्ने ठाउँ, चिल्ड्रेन पार्क, सांस्कृतिक कार्यक्रमका लागि स्टेज, सवारी पार्किङ्गको लागि पार्किङ्ग स्थल लगायत निर्माण गरिनेछ ।

यस्तै पाँच सय मिटर पक्की बाटोमा सडकको दुवै तिर रेलिङ्ग सहितको अत्याधुनिक बगैंचा निर्माण गरिने योजना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण महतोले बताउनुभयो । उहाँका अनुसार झण्डै एक विघा क्षेत्रफलमा बालमैत्री परियोजना निर्माणको काम अघि बढाइएको छ ।

परियोजना अन्तर्गतका सबै पूर्वाधार सम्पन्न भएपछि स्कुलमा पढ्न नआउने बालबालिका समेत पढ्न आउने अपेक्षा गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य शंकर महतोले जानकारी दिनुभयो ।

‘अहिलेसम्म मसुहरका बालबालिका पढ्न खासै आउदैनथे, अब सबै कुराले सम्पन्न भएपछि बालबालिका आउने अपेक्षा गरेका छौं, महतोले भन्नुभयो ‘बालबालिकालाई जहाँ खेल्ने वातावरण हुन्छ त्यहाँ त आउने हो नि ? विद्यालयमा खानेपानी, खेल्ने ठाउँ, खेल्ने साधन सबै कुराले सम्पन्न भएपछि बालबालिकाहरु आउँनेछन् ।’

मुसहर जातिका बालबालिका विद्यालय भर्ना भएपनि बीचैमा छाड्ने गरेको शिक्षक अभिभावक संघका अध्यक्ष गोपीकृष्ण भट्टराईले बताउनुभयो ।

जनता माध्यमिक विद्यालय २०१६ सालमा स्थापना भएको हो । अहिले शिशु कक्षादेखि १२ सम्म गरी झण्डै हजार विद्यार्थी अध्ययनरत छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार