बाराको कोल्हवीमा घरदैलो गर्दैगर्दा तथ्याङ्क संकलनमा सघाउदै । फोटो: बबिता चौधरी
दिक्पाल गिरी, काठमाडौ ५ जेठ । चुनावका लागि नियुक्त भएका म्यादी प्रहरी चर्पी बनाउन सघाइरहेका छन् । प्रदेश नं. १, २, ५ र ७ को चुनाव दोस्रो चरणमा हुने भएपछि बारा, पर्सा, रौतहट, सिरहा, सुनसरी, सप्तरी लगायत ठाउँमा निर्वाचन सुरक्षाका लागि खटिएका म्यादी प्रहरीले खुल्ला दिसामुक्त अभियानलाई सघाउन थालेका हुन् ।
बाराको भोदाहा ५ मा भीवाससीसीको अगुवाइमा म्यादी प्रहरी सहितको टोली घरदैलो र अनुगमन गर्दैै । फोटो : बविता चौधरीको फेसबुकबाट ।
उनीहरु भीवाससीसीका पदाधिकारी तथा सरसफाइको क्षेत्रमा क्रियाशील संघसंस्था सँगसँगै घरदैलो तथा अनुगमनमा खटिन्छन् । चर्पी नबनाएकाहरुलाई सल्लाह दिन्छन् । म्यादी प्रहरीसँग अनुगमन तथा घरदैलो गर्दा रमाइलो हुने र हौसला पनि बढ्ने अनुगमनमा खटिएका कर्मचारी तथा भीवाससीसीका पदाधिकारीहरु बताउँछन् ।
धेरैको संख्यामा घरदैलोमा जाँदा चर्पी बनाउन अटेर गरेकाहरुलाई स्व दबाब सिर्जना हुने वातावरण र जनस्वास्थ्य संस्थाबाट सरसफाइ प्रज्वलकको रुपमा खटिनुभएकी बबिता चौधरीको अनुभव छ । ‘सबै जना एकै ठाउँमा जाँदा चर्पी नबनाउनेहरु अतालिए झै हुन्छन्, अर्को पटक जाँदा चर्पी बनाउन शुरु गरेको पाएकी छु, चर्पी बनाएकाहरुलाई गर्वको महसुस हुन्छ, आहा ! मैले बनाएको चर्पी यत्ति धेरै मानिसहरुले हेरिदिए भनेर दङ्ग पर्छन्’ चौधरीले भन्नुभयो ।
सिरहाको सुब्बा पोखरी र चिल्ड्रेन पार्क सरसफाइका क्रममा अभियन्ता सँगै म्यादी प्रहरी । फोटो: धिरेन्द्र केआरको फेसबुकबाट ।
म्यादी प्रहरीले सरसफाइका लागि सघाएको कामलाई धेरैले प्रशंसा गरेका छन् । कृष्णकुमारी चौधरीले फेसबुकमा लेख्नुभएको छ ‘चुनावका लागि खटिएका म्यादी प्रहरीको सरसफाइ प्रतिको लगावलाई उच्च प्रशंसा गर्छु । यस्तै भगत गोपीलालले पनि उहाँहरुको सराहनीय काम भनेर प्रशंसा गर्नुभएको छ । राजेश यादवले लेख्नुभएको छ ‘म्यादी प्रहरीको यो कामलाई सबैले मुक्त कण्ठले प्रशंसा गर्नैपर्छ ।’