भूकम्पबाट क्षतिग्रस्त ३ जिल्लाका १६ वटा खानेपानी आयोजनाको पुननिर्माण हुदै

काठमाडौ ७ जेठ । रसुवा, नुवाकोट र मकवानपुर जिल्लामा भूकम्पबाट क्षतिग्रस्त १६ वटा खानेपानी आयोजनाको पुननिर्माण भइरहेको छ ।

ती मध्ये रसुवाको भोर्ले ५ को सिम्ले बडहरे र सरमथलीको फोस्युङ खोला खानेपानी आयोजना, मकवानपुरको खैराङ ४ मा रुन्चिवाङ खानेपानी आयोजना, खैराङकै वडा नंं. ५ को नेगीटोल खानेपानी र नामटार १ को वर्देउ खानेपानी आयोजना सम्पन्न भएका छन् ।

नुवाकोटको लछ्याङ ९ मा सञ्चालित पुरानो धारा खानेपानी आयोजना पनि सम्पन्न भएको र बाँकी १० वटा खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको नेपाल रेडक्रस सोसाईटीले जनाएको छ ।

अमेरिकन रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले भूकम्प प्रतिकार्य कार्यक्रम मार्फत ती खानेपानी आयोजना पुननिर्माण गरेको हो ।

रसुवामा दुई आयोजनाबाट ३ सय ३२ जना लाभान्वित

रसुवाको भोर्ले ५ मा सम्पन्न सिम्ले बडहरे खानेपानी आयोजना र सरमथली गा.वि.स.को वडा नं. ६ मा सम्पन्न फोस्युङ खोला खानेपानी आयोजनाबाट ६७ घरका १७३ पुरुष र १५९ महिला गरी जम्मा ३३२ जना लाभान्वित भएका छन् ।

ती दुवै आयोजनामा गरी ३६ लाख २० हजार दुइसय ३९ रुपैयाँ लगानी रहेको नेपाल रेडक्रस सोसाइटी, भूकम्प प्रति कार्य कार्यक्रम, रसुवाका जिल्ला कार्यक्रम संयोजक मधुुुसुदन थापाले जानकारी दिनुभयो ।


मकवानपुरमा ३७ लाख लगानी

मकवानपुरमा सञ्चालित खैराङ ४ को रुन्चिवाङ खानेपानी आयोजना, खैराङकै वडा नंं. ५ मा सञ्चालित नेगीटोल खानेपानी र नामटार १ मा सम्पन्न वर्देउ खानेपानी आयोजनामा ३७ लाख ११ हजार ५९ रुपैयाँ खर्च भएको भूकम्प प्रतिकार्य कार्यक्रम, मकवानपुर जिल्ला कार्यक्रम संयोजक महेश न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती खानेपानी आयोजनाबाट ६४ घरका ४१२ जना लाभान्वित भएका छन् । जसमा २०५ पुरुष र २०७ महिला छन् ।

नुवाकोटमा २५६ जना लाभान्वित

नुवाकोटको लछ्याङ ९ मा सम्पन्न पुरानो धारा खानेपानी आयोजनाबाट २५६ जना लाभान्वित भएका छन् । ४ लाख ८० हजार ८ सय ४२ रुपैयाँमा सम्पन्न आयोजनाबाट ४३ घरका १२६ पुरुष र १३० महिला लाभान्वित भएको नेपाल रेडक्रस सोसाइटी, भूकम्प प्रतिकार्य कार्यक्रम, नुवाकोटका जिल्ला कार्यक्रम संयोजक शारदा खतिवडाले जानकारी दिनुभयो ।

खानेपानी आयोजना सम्पन्न भएपछि स्वच्छ खानेपानी उपभोग गर्न पाएको र व्यक्तिगत सरसफाइमा समेत सुधार भएको गाउँलेले बताएका छन् । गाउँलेले खानेपानीको टुटे फुटेमा आफैले मर्मत गर्न मर्मत सम्भार कोषको पनि स्थापना गरेको छ ।

ती आयोजनालाई दीगो रुपमा सञ्चालन गर्न भुकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत मर्मत सम्भार कार्यकर्ताको तालिम गराई एक सेट औजार समेत उपलब्ध गराउने कार्यक्रम रहेको नेपाल रेडक्रस सोसाईटी, भुकम्प प्रतिकार्य कार्यक्रमका केन्द्रिय खानेपानी, सरसफाई तथा स्वच्छता संयोजक विरेन्द्र शाहीले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार