रौतहट १० जेठ । खानेपानी सरसफाइ र स्वच्छता समन्वय समिति (डीवाससीसी) रौतहटले खुला दिसा गरिरहेकाहरुबाट २ हजार भन्दा बढी लोटा, बोतल तथा प्लाष्टिकको भाँडा खोसेको छ ।
बिहान बेलुकी अनुगमन गर्दा दिसा धुन प्रयोग हुने ती भाँडा खोसेर सम्झाई बुझाई पठाएको खानेपानी सरसफाइ र स्वच्छता समन्वय समिति (डीवाससीसी) रौतहटका सदस्य सचिव एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख डिभिज्नल इञ्जिनियर अनिल केसरीले जानकारी दिनुभयो ।
‘हामीले गाडीमा बिहान बेलुकी माइकिङ् ग-यौं, खुला दिसा गर्नु सामाजिक अपराध हो भनेर भन्यौं, खुला ठाउँमा दिसा गरिरहेकाहरुलाई सम्झाइ बुझाइ ती भाँडा नियन्त्रणमा लिएर छाडिदियौं’ उहाँले भन्नुभयो ।
इञ्जिनियर केसरीका अनुसार निगरानी समूह र प्रहरी सम्मिलित टोलीले स्थलगत अनुगमन गरी चर्पी बनाउन सम्झाउने र खुला ठाउँमा दिसा गर्न अवरोध पु-याएपछि चर्पी बनाएर प्रयोग गर्नेको संख्या बढेको छ ।
दुई चार महिना अघि सम्म ७० प्रतिशत नागरिकको घरमा मात्र रहेको चर्पी अहिले ८० प्रतिशत घरले बनाएको उहाँले बताउनुभयो । ‘यो अभियान शुरुवात गरेपछि दश प्रतिशत बृद्धि भयो’ उहाँले भन्नुभयो । रौतहटमा १ लाख ६ हजार घरधुरी छन् ।
रौतहटले जिल्ला प्रहरी कार्यालय रौतहट सँग समन्वय गरी प्रहरी सम्मिलित निगरानी समूहले घरदैलो तथा अनुगमन गर्ने कार्यक्रमलाई जारी राख्ने भएको छ ।
८० प्रतिशत घरमा चर्पी बनिसकेको रौतहटले २०७४ असार भित्र खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेको छ । यसअघि २०७३ चैत मसान्तमा रौतहटलाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेको थियो ।