सावित्री राजभण्डारी, रसुवा ११ जेठ । रसुवाको उत्तरगया गाउँपालिकामा ४ चौरखर्कमा तीनवटा मुहानको खानेपानी संकलन गरी एउटै खानेपानी आयोजना सञ्चालन गरिएको छ ।
भालुखोप मुहान, ओभाने खोला मुहान र गौथले पहराको मुहानलाई एकै ठाउँमा जम्मा गरी चौरखर्क खानेपानी आयोजना सञ्चालन गरिएको चौरखर्क खानेपानी उपभोक्ता समितिका अध्यक्ष युवा प्रसाद न्यौपानेले बताउनुभयो । चौरखर्कका बासिन्दाले भालुखोप मुहानबाट २०४४ सालतिरै खानेपानी सञ्चालन गरेका थिए ।
भालुखोपको पानी सुक्दै गएपछि २०४८ सालमा ओभाने खोलाको पानी उपभोग गरेको अध्यक्ष न्यौपानेले बताउनुभयो । भूकम्पपछि ओभाने खोलाको पानी समेत सुकेपछि उपभोक्ताबाट १५ हजारका दरले रकम संकलन गरी गौथले पहराको खानेपानी उपभोग गर्दै आएका थिए ।
गाउँलेले व्यहोरिरहेको खानेपानीको दुःख देखेपछि एसिएफ्को आर्थिक तथा लाङटाङ संरक्षण सरोकार समाज ल्याकोसको प्राविधिक सहयोगमा खानेपानी योजना प्राप्त भएको समितिका सचिव जानुका न्यौपानेले बताउनुभयो ।
कुल ६ लाख, ६२ हजार ७ सय २० रुपैयाँ लागत मध्ये ४ लाख ३५ हजार ९ सय १३ रुपैयाँ बराबरको निर्माण सामग्री र १ लाख ५५ हजार ७ सय ९७ रुपैयाँ निर्माण खर्च गरी ५ लाख ९१ हजार ७ सय १० रुपैयाँ एसिएफले व्यहोरेको र बाँकी ७१ हजार १० रुपैयाँ बराबरको उपभोक्ताले श्रमदान गरेका एसिएफका सहायक कार्यक्रम व्यवस्थापक कपिल देवकोटाले जानकारी दिनुभयो ।
समावेशी उपभोक्ता समिति
चौरखर्क खानेपानी उपभोक्ता समितिमा अध्यक्ष पुरुष भएपनि अन्य प्रमुख पदमा महिला सहभागिता छ । समितिको कोषाध्यक्ष र सचिवमा महिलालाई राखिएको छ । महिलालाई पदसँगै अधिकार पनि दिइएको कोषाध्यक्ष सीतादेवी न्यौपानेले बताउनुभयो ।
‘हामीले हिसाब राख्न मात्र होइन, पैसा राख्न पनि दिइएको छ, निर्णय प्रक्रियामा हामीले पनि सक्रिय सहभागिता जनाएका छौं, हामीले भनेको कुरा पनि पुरुषहरुले सुन्छन् हामी पनि पुरुषहरुले भनेको कुरा सुन्छौं, दुवै पक्षको कुरा सुनेर मात्र निर्णयमा पुग्छौं’ सचिव जानुका न्यौपानेले बताउनुभयो । निर्माणाधीन खानेपानी आयोजना सम्पन्न भएपछि चौरखर्कका ४३ घर लाभन्वित हुनेछन् ।