दाङ १२ जेठ । खोलामा ढुङ्गाजन्य वस्तुको दोहन र मुहानको संरक्षण नहुँदा नेपाल भारत सिमानामा पर्ने दाङको कोइलावासमा खानेपानीको सङ्कट भएको छ ।
पानीका स्रोत सुकेपछि अहिले कोइलावासका बासिन्दा भारतबाट पानी ल्याउन बाध्य छन् । सिमानामा रहेको भारतीय सुरक्षाबल एसएसबिको शिविरबाट नेपालीले पानी ल्याउने गरेका छन् ।
करिब दुई हजार जनसङ्ख्यालाई खानेपानी व्यवस्थापनका लागि झन्डै १० वर्षदेखि खानेपानीको व्यवस्था गर्न माग गरेपनि कसैले चासो नदिंदा फागुन, चैतदेखि असार सम्म खानेपानी लिन भारत पुग्नुपर्ने बाध्यता रहेको रसिव सिद्धिकीले बताउनुभयो ।
‘यो खानेपानीको संकट अहिले मात्र आएको होइन, बर्षौदेखि हामीले यही समस्या भोग्दै आएका छौं, पानी लिन जाँदा भारतीयबाट दुर्व्यवहार सहनुपर्छ, दुर्व्यवहार भोगे पनि पानीका लागि हजुर, हजुर भन्दै त्यही शरणमा पुग्नुपर्छ’ सिद्धिकीले भन्नुभयो ।
कोइलाबासमा अहिले धारामा पानी आउन छाडेको छ भने कुवा पनि सुकेपछि पानीको हाहाकार भएको छ । कुनै बेला राप्ती अञ्चलकै व्यापारिक द्वार मानिने कोइलावास अहिले भने विकासमा निकै पछाडि परेको छ । साविकको कोइलावास गाविस अहिले गढवा गाउँपालिका– ८ मा पर्दछ ।