काठमाडौ १६ जेठ । सरकारले आर्थिक बर्ष २०७४/०७५ मा खानेपानी तथा सरसफाइ क्षेत्रका लागि २९ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा आर्थिक बर्ष २०७४/०७५ को बजेट प्रस्तुत गर्दै बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाका लागि ६ अर्ब ५७ करोड रुपैयाँ र आधारभूत खानेपानी सेवाको पहुँच नपुगेका १३ प्रतिशत जनसंख्यालाई आगामी दुई बर्षभित्र खानेपानी सेवाको पहुँच सुनिश्चित गर्न २२ अर्ब ७० करोड विनियोजन गरेको जानकारी गराउनुभयो ।
खानेपानीका लागि २९ अर्ब २७ करोड रुपैंयाँ विनियोजन गरेको सरकारले सरसफाइकै लागि सम्बोधन गरेर कुनै पनि रकम विनियोजन गरेको छैन । सन् २०१७ भित्रै देशलाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य भएपनि सरकारले सरसफाइ क्षेत्रलाई उपेक्षा गरेको हो ।
खानेपानी तथा सरसफाइ अभियान बर्षको रुपमा मनाइने
सरकारले आगामी आर्थिक बर्षलाई खानेपानी तथा सरसफाइ अभियान बर्षको रुपमा मनाउने जनाएको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महराले भन्नुभयो ‘दिगो विकास लक्ष्य हासिल गर्न समग्र खानेपानी तथा सरसफाइ क्षेत्रको क्षेत्रगत विकास योजना समेत तर्जुमा गरी लागु गरिनेछ ।’ सरकारले यसका लागि विद्यमान कानुनहरुलाई समसामयिक र एकीकृत गरी नयाँ खानेपानी तथा सरसफाइ कानुन तर्जुमा गर्ने जनाएको छ ।
तराई मधेस खानेपानी सुधार कार्यक्रमलाई निरन्तरता
सरकारले तराई मधेसका २० जिल्लामा आर्सेनिकमुक्त खानेपानी उपलब्ध गराउन सोलार पम्पिङ सहितको तराई मधेस खानेपानी सुधार कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । यस्तै जिल्ला सदरमुकाम, साना शहर र नगरोन्मुख क्षेत्रहरुमा उपभोक्तासँगको लागत साझेदारीमा कार्यान्वयन भइरहेका साना सहरी खानेपानी तथा सरसफाइ आयोजनालाई आगामी बर्ष पनि निरन्तरता दिने भएको छ ।
यस्तै देशैभर खानेपानी सुरक्षा योजना लागु गरी शुद्धीकरण प्रणाली सहितका खानेपानी गुणस्तर सुधारका आयोजनाहरुलाई क्रमशः सञ्चालनमा ल्याइने जनाएको छ ।
मेलम्ची दशैंभित्रै
सरकारले बजेट मार्फत बहुप्रतिक्षित मेलम्ची आयोजनाको निर्माण कार्य आगामी असोजभित्रै सम्पन्न हुने जनाएको छ ।
आगामी दशैंसम्मा यस आयोजनाबाट काठमाडौ उपत्यकाको चक्रपथ भित्र दैनिक १७ करोड लिटर पानी वितरण हुने र मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरण अन्तर्गत याङ्ग्री र लार्के नदीबाट दैनिक ३४ करोड लिटर खानेपानी थप गरी दैनिक ५१ करोड लिटर पानी काठमाडौ उपत्यकामा ल्याउन संरचना निर्माण कार्य प्रारम्भ गर्ने सरकारले जनाएको छ ।