अबको पाँच दिन भित्र रसुवामा एक घर एक शौचालय

रसुवा १८ जेठ । सबै घरमा चर्पी बनाएर जिल्लालाई नै खुला दिसामुक्त बनाउने मिति तोक्दै सदै गरेको रसुवामा अबको पाँच दिनभित्र अर्थात जेठ २२ गतेसम्म सबै घरमा चर्पी बनिसक्ने जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समिति रसुवाले जनाएको छ । रसुवाको ११ हजार घरमध्ये अझै ६ प्रतिशतको घरमा चर्पी बन्नै बाँकी छ ।

रसुवाले गत पुसमै जिल्लालाई खुला दिसामुक्त गर्ने लक्ष्य तोकेको थियो । तोकिएको मिति भन्दा पाँच महिना ढिलाइ भइसक्दा समेत रसुवाकोे नौकुण्ड गाउँपालिकाको यार्सा, भोर्ले र सरमथली तथा पार्वतीकुण्ड गाउँपालिकाको हाकु, नेसिङ र चिलिमेको झण्डै एक सय घरमा चर्पी बन्न बाँकी छ ।

चर्पी बन्न बाँकी रहेको घरले पनि बनाउन शुरु गरेका जेठ २२ सम्म चर्पी बनिसक्ने जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभयो ।

भूकम्पका कारण लक्ष्य प्रभावित

सन् २०१६ को अन्त्य अर्थात पुसमै खुला दिसामुक्त घोषणा हुनुपर्ने रसुवा भूकम्पका कारण प्रभावित भएको अध्यक्ष पाण्डेले बताउनुभयो । ‘भूकम्पका कारण वनेका चर्पी पनि भत्किएपछि खुला दिसामुक्त घोषणा गर्न नसकेको हो’ अध्यक्ष पाण्डेले भन्नुभयो । भूकम्पले भत्किएका घर र चर्पी अझै बनाउन सकेका छैनन् । रसुवामा २०६९ सालदेखि सरसफाइ अभियान चलाइएको थियो ।

सरसफाइ अभियान शुरु भएको चार वर्षमा रसुवाको गोसाइँकुण्ड, कालिका र उत्तरगया गाउँपालिका खुला दिसामुक्त भएको हो । अव नौकुण्ड र पार्वतीकुण्डको केही वडामा मात्र    चर्पी बनाउन बाँकी रहेको र चर्पी निर्माण हुनसाथ ती दुई गाउँपालिकालाई पनि खुला दिसामुक्त घोषणा गर्ने तयारी रहेको जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभयो ।

भूकम्प अघि सीमित गैरसरकारी संस्थाले काम गरिरहेको भूकम्प पछि रसुवामा खानेपानी तथा सरसफाइको क्षेत्रमा दर्जनौ गैरसरकारी संस्था कार्यरत छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार