काठमाडौ १९ जेठ । खानेपानी तथा सरसफाइ आयोजनाहरुको भौतिक पूर्वाधार निर्माणमा मात्र सबैजसोको ध्यान गइरहेका बेला खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा विभिन्न देशले अपनाउदै आएको पारदर्शिता, जवाफदेहिता र सहभागिता (सुशासन) सम्बन्धी अनुभव आदानप्रदान गरिएको छ ।
काठमाडौमा भएको Multi country Water Integrity Learning Event कार्यशालामा इथियोपिया, ग्वाटेमाला, मोजाम्बिक, नेपाल, बंगालादेश, बेनिन, जर्मनी, स्वीजरल्याण्ड, पाकिस्तान, केन्या र मडगास्कर गरी ११ देशका २५ जनाले सहभागिता जनाएका थिए ।
खानेपानी तथा सरसफाइ आयोजनाको कुशल व्यवस्थापन, दिगो उपयोग तथा सुचारुपन चुनौतिपूर्ण बन्दै गइरहेको बेला विभिन्न देशमा भए गरेका सु्शासन सम्बन्धी अभ्यासको आदानप्रदानबाट आ– आफ्नो देशमा अबलम्बन गर्न मद्दत पुग्ने हेल्भेटास नेपालका कन्ट्रि डाइरेक्टर भरत पोख्रेलले बताउनुभयो ।
‘भौतिक पूर्वाधार निर्माणका लागि पर्याप्त स्रोत, साधन तथा बजेटको अभावले अति आवश्यक आयोजनाहरु बन्न सकेका छैनन्, बनिसकेका धेरै आयोजनाहरु मर्मत संभार तथा उचित रेखदेखको अभावमा आंशिक सञ्चालनमा छन् । ती आयोजनाहरु जीर्ण बन्दै जाँदा उपभोक्ताले पर्याप्त प्रतिफल प्राप्त गर्न सकेका छैनन् । यसको महत्वपूर्ण कारण भनेको सेवा प्रदायक, उपभोक्ता, उपभोक्ता समिति आदिको तर्फबाट पारदर्शिता, जवाफदेहिता र सहभागिता (सुशासन) कायम गर्न नसक्नु नै हो । त्यसैले खानेपानी र सरसफाइ क्षेत्रको सुशासनका लागि अरु देशमा भएका सफल अभ्यासको आदानप्रदान गरी यसको क्षेत्रमा सुशासनलाई अझ कसरी बलियो बनाउन सकिन्छ भनेर छलफल तथा विचारको आदानप्रदान गर्न कार्यक्रम गरिएको हो’ उहाँले भन्नुभयो ।
खानेपानी र सरसफाइ क्षेत्रमा विभिन्न देशले अपनाउदै आएको सुशासनको सफल अभ्यास
खानेपानी र सरसफाइ आयोजनाहरुको व्यवस्थापनमा सुशासन अभिबृद्धिका प्रयासहरु भइरहेका छन् । विभिन्न देशले विभिन्न संस्थाहरु मार्फत अपनाउदै आएको सुशासनको सफल अभ्यास यस्तो छ ।
मोजाम्बिक
खानेपानी तथा सरसफाइ क्षेत्रको सार्वजनिक बजेटमा जवाफदेहिता (Accountability in Public Finance in WASH Projects) जुन tool apply गर्दा बित्तिय संकटको बेला खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रको बजेटलाइ जोहो गर्न सकिएको ।
ग्वाटेमाला
नगरपालिकाहरुमा नियमनकारी कार्य ढाँचा तथा नागरिकहरुको सहभागितामा कार्य गरेको (Regulatory framework of municipalities and citizen engagement)
केन्याः
सामुदायिक संस्था तथा साना खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुलाई नीति, नियम, निर्देशिका मापदण्ड आदिको बारेमा जानकारी प्रदान गर्न सुशासनका औजारको प्रयोग गरिएको छ । यसबाट योजनाको प्रभावकारी कार्यान्वयन भएको र सेवा प्रवाह तथा कार्य सुचारुपनामा अभिवृद्धि भएको छ । (Regulatory framework of municipalities and citizen engagement)
नेपाल
नेपालमा खानेपानी तथा सरसफाइ क्षेत्रमा सुशासन प्रवद्र्धन कार्यक्रम सन् २०१२ देखि सञ्चालन भइरहेको छ । हेल्भेटास स्वीस इन्टरकोपरेशन नेपाल, एकीकृत जलश्रोत व्यवस्थापनले खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ मार्फत यो कार्यक्रम संचालन गरिरहेको छ ।
स्थानीय स्तरमा नागरिकहरुको सहभागितामा गरिएको पैरवी तथा सुशासन प्रबद्र्धन सम्बन्धी सञ्चालित कार्यक्रमबाट राष्ट्रिय स्तरको नीति नियम थाहा पाउनुका साथै भएका नीति नियम संशोधनमा समेत टेवा पुगेको छ ।
यही मे २९ देखि पाँच दिनसम्म सञ्चालित कार्यक्रममा खानेपानी तथा सरसफाइ क्षेत्रमा सुशासन कार्यक्रम संचालन भएका राष्ट्रहरुमा सञ्चालित गतिविधि, उपलब्धी, चुनौती तथा सिकाइहरु आदानप्रदान तथा नयाँ आयामको खोज कार्यशाला, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका नीति नियम कार्यान्वयन आदि विषयमा छलफल र सुशासन गुणस्तर पालना सम्बन्धी प्रशिक्षण गरिएकोे थियो ।