अछामको बीरपथमा घर घरै फिल्टर

🔗
0
Shares

अछाम २० जेठ । सरसफाइ तथा स्वच्छता कक्षामा महिला स्वास्थ्य स्वयं सेविकाले पानीलाई फिल्टर गरेर शुद्धीकरण गर्न सकिन्छ भन्ने कुरा गर्दा अछामको बीरपथ गाउँका दिदीबहिनी अक्क न बक्क भएका थिए । शहरतिर आउजाउ गर्नेले भने फिल्टर देखेको र अब आफ्नै घरमा पनि प्रयोग गर्ने बताउँथे ।

तर त्यसबेला फिल्टरको नाम सुन्दै छक्क पर्ने दिदीबहिनीले अहिले घरघरमै फिल्टरको व्यवस्था गरेका छन् । अहिले त फिल्टर नगरी पानी खान मनै नजाने बीरपथ ५ की सुनिता शाहीले बताउनुभयो ।

‘सरसफाइ तथा स्वच्छता पानी शुद्धीकरणको विधि, हात धुने तरिका, व्यक्तिगत सरसफाइ, वातावरणीय सरसफाइ र सुरक्षित भान्छा लगायतका विषयमा छलफल गरेपछि पानी शुद्धीकरण गरेर पिउने चेत खुल्यो’ साबिकको बीरपथ ५ की लक्ष्मी देवी शाहीले भन्नुभयो ।

बीरपथ गाउँ विकास समितिको वडा नं. ५ मा मात्र ६० भन्दा बढी घरधुरी छन् । प्रायः शहरमा मात्र उपलब्ध हुने फिल्टर बीरपथका बासिन्दाले एकमुष्ट रकम संकलन गरेर सुर्खेत बाट मगाएका हुन् । पानी फिल्टर गरेर पिउन थालेपछि पुगेको आनन्दको क्षण बाँड्दै चन्द्रा शाहीले भन्नुभयो ‘फिल्टरमा नहाली पानी खाँदा किटाणु पो छ कि ? फिल्टर नगरी खाँदा बिरामी पो पर्ने हो कि भनेर डर डर लाग्छ, त्यसैले फिल्टर गरेर मात्र पिउने गरेका छौं’ चन्द्रा शाहीले भन्नुभयो ।

पानीको शुद्धीकरण गर्ने विभिन्न विधि छन् । उमालेर, सोडिस गरेर, क्लोरिनेशन गरेर वा फिल्टर गरेर पानीको शुद्धीकरण गर्न सकिन्छ । पानी शुद्धीकरण गर्ने विधि मध्ये पनि फिल्टर गर्ने तरीका सजिलो भएपछि गाउँले सबै फिल्टर किन्न राजी भएका हुन् । घरघरै फिल्टरको व्यवस्था भएपछि झाडापखाला, आउँ, मासी जस्ता रोगमा कमी आएको स्वास्थ्य स्वयं सेविका जानकी शाहीको अनुभव छ । ‘पहिले पहिले गाउँभरि जीवनजल बाँड्ने हामी नै हौं, तर अहिले पहिले जस्तो झाडापखालाको विरामी भेटिदैन ।’

सरसफाईको कमी, दुषित पानी र खानेकुराका कारण मानिसलाई झाडापखाला, हैजा, टाइफाइड, आउँ जण्डिस जस्ता रोगहरु लाग्न सक्छ । झाडापखाला र हैजा जस्ता रोगबाट आफु र आफ्ना परिवाारलाई बचाउन खोला, धारा वा मुलको पानी सिधै पिउनु हुँदैन ।

पानीलाई उमालेर, फिल्टर गरेर, पियुष, अक्वाट्याब्स वा अन्य क्लोरिन हालेर शुद्धिकरण गरेको पानी मात्र पिउनुपर्छ । जुन काम अछामको दुर्गम गाउँका बासिन्दाले यस अघि नै शुरुवात गरिसकेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार