सन् २०१७ भित्र खुला दिसामुक्त राष्ट्र बन्छ – महानिर्देशक भट्ट

काठमाडौ २२ जेठ । खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले नेपाल सन् २०१७ अर्थात आगामी पुस भित्र खुलादिसामुक्त राष्ट्र हुने बताउनुभएको छ । अहिलेसम्म सरसफाइमा हासिल गरेको प्रगतिले आगामी ७ महिनामा देशलाई नै खुला दिसामुक्त घोषणा गर्न सकिने आधार तय भएको बताउनुभयो ।

अठारौं राष्ट्रिय सरसफाइ सप्ताह शुभारम्भ समारोहमा महानिर्देशक भट्टले भन्नुभयो ‘हामी अहिलेसम्म लक्ष्य अनुसार नै अगाडि बढिरहेका छौं, अहिले ९१ प्रतिशत घरमा आधारभूत तहको सरसफाइ सुविधा पुगेको छ यही गतिमा हामी राष्ट्रिय लक्ष्य समयमै पूरा गर्छौ ।’ सरसफाइ गुरुयोजना २०६८ ले सन् २०१६ को अन्त्य सम्ममा ९० प्रतिशत र सन् २०१७ को अन्त्यमा १०० प्रतिशत घरमा सरसफाइ सुविधा पु-याउने लक्ष्य तोकेको छ ।

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले सन् २०१७ भित्र सबै नेपालीको घरमा चर्पी बनाइसक्न आगामी असार मसान्तसम्म सरसफाइ प्रगति ९३ प्रतिशत पु-याउने लक्ष्य निर्धारण गरेको छ ।
यस्तै खानेपानी तथा ढल निकास विभागकै उप महानिर्देशक मनोज घिमिरेले बर्षभरि नै सरसफाइमा होमिएका सरसफाइकर्मी र अभियन्ताले राष्ट्रिय सरसफाइ सप्ताहमा सरसफाइको बर्षभरिको समीक्षा गर्नुपर्ने, विगतबाट पाठ सिक्दै भावी योजना तय गर्नुपर्ने र सरसफाइ सम्बन्धी प्रबद्र्वनात्मक काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्रालयका सहसचिव आशिष घिमिरेले खुला दिसामुक्त घोषणा भएका क्षेत्रहरुमा पूर्ण सरसफाइसँग सम्बन्धित गतिविधिहरु बढाउनुपर्ने बताउनुभयो । यसका लागि पुर्ण सरसफाइ निर्देशिका जारी भइसकेको र यसैको प्रावधानहरुमा आधारित भएर काम गर्न सके दिगो विकास लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने बताउनुभयो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले पानी विनाको पूर्ण सरसफाइ र सरसफाइ विनाको सुरक्षित खानेपानी असम्भव भएकाले सरसफाइ र खानेपानीलाई सँगसँगै लैजानुपर्ने आवश्यकता औल्याउनुभयो । पानीको अभावमा चर्पी भएर पनि प्रयोग नगरेका र दुई चार पटक प्रयोग गरे त्यत्तिकै राख्दा झनै दुर्गन्ध बढेको बताउनुभयो ।

कार्यक्रममा बोल्ने अधिकांशले सरसफाइको दीगोपनाका लागि पानीको अति आवश्यक रहेकोमा जोड दिएका थिए । अठारौं राष्ट्रिय सरसफाइ सप्ताह विभिन्न कार्यक्रमको आयोजना गरी यही २८ गतेसम्म मनाइदैछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार