काठमाडौ २३ जेठ । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले मेलम्ची आयोजना समयमै सक्न मेलम्ची सँग सम्बन्धित सबै पक्षलाई ढिलासुस्ती नगर्न आग्रह गर्नुभएको छ ।
मन्त्रालयले आज मन्त्री तथा राज्यमन्त्रीको बिदाइका लागि आयोजना गरेको कार्यक्रममा तोकिएकै समयमा मेलम्ची आयोजना सक्न सम्बन्धित कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले संघीय संरचनामा खानेपानी मन्त्रालयलाई स्वास्थ्य मन्त्रालय सँग गाभे राम्रो हुने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री शाहीले खानेपानीका लागि सरकारले अहिले २२ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी गराउँदै सबै नेपालीलाई तत्काल खानेपानी पु-याउने हो भने एक खर्ब लगानी गर्नुपर्ने बताउनुभयो ।
विदाइ कार्यक्रममा खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले बजेटको उचित बाँडफाँटका कारण देशमा खानेपानी क्षेत्रले फड्को मारेकाले यसलाई निरन्तरता दिन कर्मचारीलाई आग्रह गर्नुभयो ।
उहाँले आफू नियुक्त भएपछि विकास निर्माणका कामलाई उच्च प्राथमिकता, अन्तर मन्त्रालयसँग छलफल, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा देखिएका समस्या समाधान, एक घर एक धारा कार्यक्रम, सुख्खायाममा खानेपानी आपूर्ति व्यवस्था गर्ने लगायत कामलाई अगाडि बढाएको बताउनुभयो ।
खानेपानी तथा सरसफाइ मन्त्री र राज्यमन्त्रीको आग्रह पछि खानेपानी तथा सरसफाइ सचिव भीमप्रसाद उपाध्यायले मन्त्रालयले अहिले अगाडि बढाएको कामलाई भविश्यमा पनि निरन्तरता दिने बताउनुभयो ।
खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले ९१ प्रतिशत नागरिकको घरमा चर्पी बनिसकेको र सरकारले खानेपानी र सरसफाइमा राखेको राष्ट्रिय लक्ष्य समयमै पूरा हुने दाबी गर्नुभयो ।
सरकारले सन् २०१७ भित्र हरेक नेपालीको घर घरमा आधारभूत स्तरको खानोपानी र सरसफाइ सुविधा पु-याउने लक्ष्य राखेको छ ।


785 पटक हेरिएको 

