काठमाडौ २७ जेठ । खन्न बाँकी सुरुङको लम्बाइ — ३ हजार ९५ मिटर, दैनिक खनिने सुरुङको लम्बाइ सालाखाला १५ मिटर, खन्न लाग्ने समय — २ सय ६ दिन अर्थात ६ महिना भन्दा बढी । दशैंको दशमी तिथि असोज १९ गते अर्थात दशैंमा काठमाडौको खानेपानी ल्याउने हो भने चार महिना पनि बाँकी छैन ।
यसकारण मेलम्चीको पानी काठमाडौबासीले दशैंमा पिउन असम्भव देखिएको छ । तैपनि सरकारले दशैंसम्ममा मेलम्चीको खानेपानी काठमाडौका बासिन्दालाई वितरण गरिनेछ भन्न छाडेको छैन ।
दैनिक १५ देखि २० मिटर मात्र सुरुङ खन्ने काम भईरहेकाले मेलम्चीका अधिकारीले नै दशैंसम्ममा सुरुङ खन्ने काम पनि नसकिने बताउन थालेका छन् ।
काठमाडौ उपत्यकामा पाइप विछ्याउन पनि अझै ८५ किलोमिटर बाँकी छ । उपत्यकामा ६ सय ७० किलोमिटर पाइप बिच्छ्याउनुपर्नेमा अहिलेसम्म ५ सय ८५ किलोमिटर पाइप बिच्छ्याईसकेको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेश खत्रीले जानकारी दिनुभयो ।
यही गतिमा काम गर्ने हो भने २०७४ सालभरिमा मेलम्चीको पानी काठमाडौबासीले उपभोग गर्न पाइने कर्मचारीहरु बताउँछन् । सरकारले आर्थिक बर्ष २०७४/०७५ को बजेटमा मेलम्ची खानेपानी आयोजनाका लागि ६ अर्ब ५७ करोड रुपैयाँ बजेट छुट्याएको छ ।