काठमाडौ २९ जेठ । सार्वजनिक शौचालय व्यवस्थापनका विषयमा गरिएको कार्यशालामा मेयर तथा उपमेयरहरुले खुलेर छलफल गरेका छन् । कार्यशालामा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले आफू शौचालय निर्माणकै लागि मात्र मेयर भएको हो ? भन्ने तर्फ लक्षित गर्दै भन्नुभयो ‘२०४९ मा चुनाव जितेर जोरपाटी चोकमा शौचालय बनाएको थिएँ, अहिलेसम्म जसोतसो चल्दैछ, अब फेरि अर्को शौचालय बनाउनुपर्ने भयो ।’
हेर्नुहोस् भिडियो :
अन्तरक्रियाकै क्रममा संकरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले भूकम्पले आफ्नो गाउँ ध्वस्त भएकाले घर समेत नभएको अवस्थामा शौचालय बनाउने काम जटिल भएको बताउनुभयो । यस्तै, बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले खानेपानी र सरसफाइ संविधानको मौलिक हकको रुपमा स्थापित भइसकेकाले पानी पिउन पाएन वा सार्वजनिक शौचालय अभावका कारण दिसापिसाब गर्न पाएन भने सरकार विरुद्ध अदालतमा मुद्दा दिन सकिने बताउनुभयो ।
यस्तै भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले भक्तपुर शहर पर्यटकीय शहर पनि भएकाले पर्यटकलाई समेत ध्यान दिएर सार्वजनिक शौचालयहरु बताउने योजना रहेको बताउनुभयो ।
टोखा नगरपालिकाका उप मेयर ज्ञानीमाया डंगोलले भने पिकनिक स्पटको सार्वजनिक शौचालयमा दिसापिसाबको पटके शुल्क नभई दिनभरिका लागि भनेर निर्धारण गर्नुपर्ने बताउनुभयो । उहाँले टोखाको विभिन्न ठाउँमा सार्वजनिक शौचालय बनाउने योजना रहेको पनि बताउनुभयो ।
कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले भने सडकको मुख्य भागमा शौचालय निर्माणका लागि जग्गा अभाव भएकाले भित्री भागमा सार्वजनिक शौचालय बनाउने योजना रहेको सुनाउनुभयो ।
सरसफाइ सप्ताहको अन्तिम दिन आइतबार आयोजना गरिएको सार्वजनिक शौचालय व्यवस्थापन सम्बन्धी कार्यशालामा काठमाडौ उपत्यकाका २० वटा नगरपालिका मेयर तथा कार्यकारी अधिकृतलाई बोलाए पनि आधा भन्दा बढी नगरपालिकाका मेयर तथा कार्यकारी अधिकृत उपस्थित थिएनन् ।