सावित्री राजभण्डारी, रसुवा : खानेपानीको योजना दिने संस्थाले सामानको सट्टा पैसा दिए हुन्थ्यो भनेर सोच्ने उत्तरगया गाउँपालिका ४ रसुवाका युवा प्रसाद न्यौपाने हिजोआज संस्थाले सामान दिएर राम्रो काम गरेछ भन्नुहुन्छ । एसिएफले खानेपानी योजनाका लागि दिएको सामानको प्रशंसा गर्ने रसुवा र नुवाकोटमा धेरै छन् । चौरखर्क खानेपानी उपभोक्ता समितिकी कोषाध्यक्ष सीतादेवी न्यौपाने भन्नुहुन्छ ‘पक्की सामान दिएपछि काम पनि पक्की, पैसा दिएको भए उपभोक्ता समितिले ल्याएको सामान सक्कली हो कि नक्कली हो हामी चिन्ने थिएनौं ’
‘एसिएफले पैसा दिएको भए उपभोक्ता समितिमा बस्नका लागि तछाडमछाड हुन्थ्यो, सामान ढुवानीकै लागि कयौं समय लगाउथ्यो, कमसल सामान ल्याएर बिल बुझाउने काम हुन्थ्यो र भ्रष्टाचार मौलाउथ्यो, मुद्दा मामिला गर्दैमा ठीक्क हुन्थ्यो र समाजमा फाटो निम्त्याउथ्यो’ कोषाध्यक्ष न्यौपानेले पैसाका कारण समाजमा हुनसक्ने घटनाको आंकलन गर्नुभयो ।
दुर्गम क्षेत्रमा सामान ढुवानी गर्न अति नै गाह्रो हुन्छ । भनेको समयमा सामान ढुवानी गर्न नसक्दा तोकिएको समयमा योजना सम्पन्न हुदैनन् । संस्थाले सामान उपलब्ध गराएर योजना समयमै सम्पन्न पनि भएको चौरखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकी सचिव जानुका न्यौपानेले बताउनुभयो ।
रकमको नाममा दक्ष कामदारको ज्याला मात्र उपलब्ध गराएपछि उपभोक्ताले धेरै खट्नुपरेको छ । ढुंगा गिट्टी बालुवा संकलनका लागि पनि स्थानीयले श्रम गरेकै छन् अनि कुलो खन्नका लागि पनि । तर यसमा उनीहरुको कुनै असन्तुष्टि छैन । जत्ति धेरै श्रम प-यो उत्ति धेरै खानेपानीको माया लाग्ने समितिका अध्यक्ष युवा प्रसाद न्यौपाने बताउनुहुन्छ ।
लागत कम, गुणस्तरीय काम
विगतमा एउटा योजना सम्पन्न गर्नका लागि तीन चार बर्ष समय लागेको सम्झदै एक डेढ महिनाकै अवधिमा तीन वटा मुहानको पानी एकै ठाउँमा जम्मा गरी घरघरमै पानी वितरण गर्न सकेको अध्यक्ष न्यौपाने बताउनुहुन्छ । ‘सामान समयमा नआए किन आएन भनेर सोध्न पाइयो, जसका कारण हाम्रो काम पनि समयमै फत्ते हुने भयो’ खुसी हुदै उहाँले भन्नुभयो ।
एसिएफले रसुवा र नुवाकोटमा लाङटाङ संरक्षण सरोकार समाज ल्याकोस र एकीकृत ताडी विकास समाज नेपालको समन्वयमा खानेपानी सम्बनधी यस्ता धेरै योजनाहरु सञ्चालन गरिरहेको छ । जुन एकैपटक खरीद गर्दा सस्तो पनि पर्न जाने हूँदा उसले बोलपत्र आव्हान गरी सामान खरीद गर्छ । यसले योजनाको लागत घटाउन, योजनालाई एकरुपता दिन, समयमै काम सम्पन्न गराउन र भ्रष्टाचार हुन नदिन पनि सहयोग गर्ने एकीकृत ताडी विकास समाज नेपालका साइट इन्जिनियर ऋषिराम लामिछानेले बताउनुभयो ।
हामी कहाँ एउटै योजना सम्पन्न हुन कयौं समय लागेको, योजना सम्पन्न नहुदै फरफारक भएको, रकम हिनामिना गरेको र योजना सम्पन्न भएपनि त्यसको प्रतिफल हासिल गर्न नसकेको जस्ता धेरै अनियमितताहरु भएका छन् ।
यसो हुनुको एउटा कारण योजनाको आर्थिक पक्ष पनि हो । ग्रामीण भेगमा सन्चालन हुने योजनामा रकम नदिई साधन दिदै आएको ACF को अभ्यासलाई अन्यले पनि अबलम्बन गर्नुपर्ने उपभोक्ताहरु बताउँछन् ।